काठमाडौं – मिस युनिभर्स नेपाल २०२६ को ताज प्रयासना गुरुङले पहिरिइन्। काठमाडौंको होटल सोल्टी क्राउन प्लाजामा आयोजित ग्रान्ड फिनालेमा उनी विजेता घोषित भए संगै पूर्व मिस युनिभर्स सान्या अधिकारीले उक्त ताज पहिराईदिएकी थिइन्। समारोहमा पूर्व मिस युनिभर्स सान्या अधिकारीको मन्तव्य निकै भावुक र मर्मस्पर्शी थियो। मिस युनिभर्स नेपालको इजाजत लिएको संस्था ग्लोबल ग्ल्यामर भेन्चर्स ले प्रतियोगिताको आयोजना गरेको थियो।
त्यसैगरी, मिस अर्थ नेपाल २०२६ को ताज झापाकी बिनिता ओलीले पहिरिइन्। देशभरबाट सहभागी ११० प्रतिस्पर्धीमध्ये अन्तिम १४ जना फिनालेमा पुगेका थिए। प्रतियोगितामा युनिभर्सल ओमन नेपालको उपाधि संगीता पुरीले पाइन्।
फिनालेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका विशिष्ट व्यक्तित्वहरू निर्णायकको भूमिकामा रहेका थिए। निर्णायक मण्डलमा मिस युनिभर्स इन्डियाका राष्ट्रिय निर्देशक निखिल आनन्द, विश्वव्यापी आतिथ्य क्षेत्रमा तीन दशकको अनुभव बटुलेका अविनाश देशमुख, एम ए डब्ल्यू इन्टरप्राइजेजकी निर्देशक तथा एम ए डब्ल्यू फाउन्डेसनकी कार्यकारी निर्देशक तुलिका अग्रवाल र ट्रु डर्मा (True Darma)का संस्थापक तथा व्यवस्थापकीय निर्देशक सुशान्त मुरारका सहभागी थिए। अन्तर्राष्ट्रिय उपस्थितिका रूपमा सन् २०१३ की मिस युनिभर्स तथा पुएर्तो रिकोकी मोडल मोनिक पेरेज डियाज पनि निर्णायक बनेकी थिइन्। आयोजकका अनुसार सौन्दर्य, प्रतिभा र विश्वव्यापी पहिचानका लागि चर्चित उनको उपस्थितिले प्रतियोगितालाई अन्तर्राष्ट्रिय स्तरको बनाएको थियो।
समारोहमा बलिउड अभिनेत्री तथा पूर्वमिस युनिभर्स इन्डिया सेलिना जेटली र मिस युनिभर्स इन्डिया २०२५ मनिका विश्वकर्मा प्रमुख अतिथि थिए। प्रतियोगिताको अन्तिम चरणमा प्रतिस्पर्धीहरूले निर्णायकहरूसमक्ष आफ्नो प्रतिभा, व्यक्तित्व र सोचको प्रस्तुति दिएका थिए।

२४ वर्षीया गुरुङ महिला सशक्तिकरणकी अभियन्ता हुन्। बेलायतमा बस्दै आएकी उनले महिला सशक्तिकरणकै उद्देश्यले प्रतियोगितामा सहभागी भएको बताइन्। उनले ‘द डिग्निटी प्रोजेक्ट’मार्फत नेपाली महिलालाई मेक-अप, डिजिटल मार्केटिङ, वित्तीय साक्षरता र उद्यमशीलता जस्ता जीवनोपयोगी सीपमा निःशुल्क अनलाइन कार्यशालामार्फत सशक्त बनाउने अभियान चलाइरहेकी छन्।
मिस अर्थ नेपालकी विजेता २७ वर्षीया ओलीले केही वर्ष कुवेत एयरवेजमा अन्तर्राष्ट्रिय क्याबिन क्रुका रूपमा काम गरी नेपाल फर्किएकी हुन्। हाल मनोविज्ञान द्वितीय वर्षमा अध्ययनरत उनी थेरापिस्ट तथा सामाजिक अभियन्ता बन्न चाहन्छिन्।

युनिभर्सल ओमन नेपाल घोषित संगीता पुरी मिस युनिभर्स प्रतियोगिताको व्यवस्थापन गर्दै आएकी ग्लोबल ग्ल्यामर भेन्चर्सकी निर्देशक हुन्।
कार्यक्रममा छनोट भएकी मिस युनिभर्स नेपालले पोर्तो रिकोमा हुने मिस युनिभर्समा र मिस अर्थ नेपालले फिलिपिन्सको मनिलामा हुने मिस अर्थमा नेपालको प्रतिनिधित्व गर्नेछन्।


मिस अर्थको आयोजना लामो समयदेखि मिस नेपालको आयोजक संस्था द हिडन ट्रेजरले गर्दै आएको थियो। केही वर्षअघि संस्थाले यसको आयोजना छाडेको थियो। यसपटक भने मिस युनिभर्स नेपालको इजाजत लिएको ग्लोबल ग्ल्यामर भेन्चर्स संस्थाले नै मिस अर्थको पनि आयोजना गरेको हो।

