“सामाजिक सञ्जालका भ्रामक सूचनाबाट सचेत रहौँ, योग्य चिकित्सकको सल्लाह लिऔँ”: डा. सूचना मरहट्टा

गोरखा नगरपालिकामा जन्मिएकी डा. सूचना मरहट्टाले बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमबीबीएस र एमडी अध्ययन पूर्ण छात्रवृत्तिमा सम्पन्न गरेकी हुन्। बाल्यकालदेखि नै पढाइमा अब्बल उनी नयाँ कुरा सिक्न र नृत्यमा पनि उत्तिकै रुचि राख्थिन्। सानैदेखि चिकित्सक बन्ने सपना देखेकी उनले आफ्नो लक्ष्य पूरा गरिन्। उनले करिब १० वर्ष बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवा गरिन्। त्यसपछि सादेतिन बर्षा डीआई स्किनमा कार्यरत रहेर हाल काठमाडौंको लाजिम्पाटमा हेल्दी स्किन क्लिनिक सञ्चालन गरिरहेकी छन्। व्यक्तिगत र व्यावसायिक जीवनको सन्तुलन, चिकित्सा पेशाप्रतिको समाजको बदलिँदो दृष्टिकोण, वर्षायाममा छालाको हेरचाह र सामाजिक सञ्जालका भ्रामक स्वास्थ्य सूचनाबारे उनीसँग वरिष्ठ मिडियाकर्मी सुभाष श्रेष्ठ प्रधानले लिनुभएको अन्तर्वार्ता तल प्रस्तुत छ।

Byशिक्षापाटी

२०८३ आश्विन १४, बुधवार

प्रश्न: व्यक्तिगत र व्यावसायिक जीवनलाई कसरी व्यवस्थापन गर्नुहुन्छ?

व्यक्तिगत र व्यावसायिक जीवनलाई सन्तुलनमा राख्न सजिलो हुँदैन। समय व्यवस्थापन चुनौतीपूर्ण हुन्छ, तर म सकेसम्म समय मिलाउने प्रयास गर्छु। बिदाको दिन परिवारसँग समय बिताउँछु। आवश्यकता अनुसार घरपरिवारलाई समय दिन्छु र छोराछोरीका विद्यालयका गतिविधिमा पनि सहभागी हुने प्रयास गर्छु।

प्रश्न: तपाईंको सफलतामा परिवारको साथ कत्तिको छ?

आज म जुन स्थानमा छु, त्यसको सबैभन्दा ठूलो श्रेय मेरो परिवारलाई जान्छ। परिवारको साथ, सहयोग र विश्वास नभएको भए मेरो यात्रा धेरैअघि नै रोकिन सक्थ्यो। म परिवारप्रति सधैं आभारी छु।

प्रश्न: बिरामीको सेवा गर्दा कस्तो अनुभूति हुन्छ?

“बिरामीको सेवा गर्न पाउँदा मलाई आनन्द मिल्छ।”

मेरो लागि बिरामीको सेवा गर्नु भनेको भगवान्को सेवा गर्नुजस्तै हो। बिरामीको अनुहारमा मुस्कान देख्नु नै मेरो सबैभन्दा ठूलो खुशी हो। बिरामीको स्वास्थ्य र सन्तुष्टि नै मेरो पहिलो प्राथमिकता हो।

प्रश्न: तपाईंको विचारमा जीवन भनेको के हो?

जीवन संघर्ष हो। सफल हुन स्पष्ट लक्ष्य हुनुपर्छ, त्यसमा केन्द्रित हुनुपर्छ र अनुशासनका साथ निरन्तर मेहनत गर्दै अघि बढ्नुपर्छ।

प्रश्न: आजभोलि समाजले चिकित्सक पेशालाई कसरी हेर्छ?

पहिले चिकित्सकलाई भगवान् सरह सम्मान गरिन्थ्यो। तर अहिले सामाजिक सञ्जालका कारण धेरै भ्रम र गलत सूचना फैलिएका छन्। सबैले आफ्ना धारणा व्यक्त गर्छन्, जसले वास्तविक मेहनत र ज्ञान हासिल गरेका चिकित्सकलाई पनि कठिन अवस्था सिर्जना गरेको छ। कहिलेकाहीँ हामीलाई नै “तपाईं साँच्चै डाक्टर हो?” भन्ने प्रश्न पनि सुनिनुपर्छ। त्यसैले स्वास्थ्यसम्बन्धी विषयमा योग्य र प्रमाणित चिकित्सकको सल्लाहलाई प्राथमिकता दिनु आवश्यक छ।

प्रश्न: वर्षायाममा छालाको हेरचाह कसरी गर्ने?

वर्षायाममा किराको टोकाइ, एलर्जी र अत्यधिक पसिनाका कारण छालामा विभिन्न समस्या देखिन सक्छन्। त्यसैले सकेसम्म पूरा शरीर ढाक्ने लुगा लगाउने, व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिने र नियमित रूपमा नुहाउने बानी बसाल्नुपर्छ।

प्रश्न: स्वस्थ जीवनका लागि के–के गर्नुपर्छ?

स्वस्थ रहन सबैभन्दा पहिले जीवनशैली सुधार्न आवश्यक छ। नियमित व्यायाम, योग, ध्यान, सन्तुलित आहार र सकारात्मक सोचले शरीर र मन दुवै स्वस्थ राख्न मद्दत गर्छ।

प्रश्न: अन्त्यमा पाठकहरूलाई के सन्देश दिन चाहनुहुन्छ?

योग्य र अनुभवी चिकित्सकलाई सही पहिचान गर्न सिक्नुपर्छ। सामाजिक सञ्जालमा आउने सबै स्वास्थ्यसम्बन्धी जानकारी सत्य नहुन सक्छ, त्यसैले त्यसको दुरुपयोगबाट सचेत रहन आवश्यक छ। जीवनमा इमान्दारी, अनुशासन र निरन्तर मेहनतलाई कहिल्यै छोड्नु हुँदैन। सफलता मेहनतबाटै प्राप्त हुन्छ।

प्रतिकृया दिनुहोस्