विपद्का अदृश्य घाउ: राहतभन्दा पर मनोसामाजिक पुनर्स्थापनाको अपरिहार्यता

विपद्पछिको पुनर्स्थापना भत्किएका संरचना उठाउने प्रयास मात्र होइन, त्रास, शोक र असुरक्षाले थलिएको मनलाई पुनः सुरक्षित, आशावादी र आत्मनिर्भर बनाउने प्रक्रिया पनि हो।

Byशिक्षापाटी

२०८३ भाद्र २१, आइतवार

प्राकृतिक विपद्ले मानिसका घरहरू बगाउँछ, सडक र पुल भत्काउँछ, वर्षौँको पसिना र संघर्षले बनाएको सम्पत्ति केही क्षणमै समाप्त गरिदिन्छ। तर विपद्को सबैभन्दा ठूलो क्षति प्रायः आँखाले देख्न सकिँदैन। त्यो मानिसको मनमा हुन्छ। यही अदृश्य घाउ नै प्रायः सबैभन्दा लामो समयसम्म रहन्छ, तर दुर्भाग्यवश सबैभन्दा कम सम्बोधन गरिन्छ।

नेपाल विश्वकै विपद् जोखिमयुक्त मुलुकहरूमध्ये एक हो। बाढी, पहिरो, भूकम्प वा अन्य प्राकृतिक प्रकोपपछिका दिनहरूमा उद्धार, राहत र पुनर्निर्माणका गतिविधि तीव्र रूपमा अघि बढ्छन्। खाद्यान्न, लत्ताकपडा, अस्थायी आवास र स्वास्थ्य सेवाहरू तत्काल परिचालन हुन्छन्। यी सबै अत्यन्त आवश्यक छन्। तर एउटा प्रश्न बारम्बार उठ्छ: यी सबै माथि उल्लेखित राहतले मात्र पिडित व्यक्तिको पूर्ण रुपमा उद्दार गर्न सक्छ त?

विश्व स्वास्थ्य संगठन (WHO) ले मानसिक स्वास्थ्यलाई स्वास्थ्यको अभिन्न अङ्ग मानेको छ भने Mental Health and Psychosocial Support (MHPSS) लाई विपद्पछिको मानवीय सहायता प्रणालीको आधारभूत अङ्गका रूपमा व्याख्या गरेको छ। यसको अर्थ स्पष्ट छ, विपद्पछिको पुनर्स्थापना केवल भौतिक संरचना पुनः निर्माण गर्नु होइन; मानिसको सुरक्षा, आशा, सम्बन्ध र मनोवैज्ञानिक सन्तुलन पुनःस्थापित गर्नु पनि हो।

यही यथार्थलाई मैले पछिल्ला केही दिनहरूमा नजिकबाट अनुभूति गर्ने अवसर पाएँ।

भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढीपछि उद्धार गरिएका रसुवा जिल्लाको टिमुरे र स्याफ्रुबेँसीका करिब २५० जना प्रभावितहरूलाई स्वयम्भूनजिक रहेको पहेँलो गुम्बामा अस्थायी रूपमा राखिएको छ। म मास्टर्स इन काउन्सेलिङ साइकोलोजीको तेस्रो सत्रमा अध्ययनरत विद्यार्थी हुँ। साथै, छ महिनाको मनोसामाजिक परामर्श तालिम प्राप्त गरी यसअघि पनि विपद्का सन्दर्भमा काम गरेको अनुभवका आधारमा विगत सात दिनदेखि उक्त शिविरमा स्वयंसेवक मनोसामाजिक परामर्शदाताका रूपमा सेवा गर्दै आइरहेकी छु, र प्रभावित व्यक्तिहरू शिविरमा रहुञ्जेल यो सेवामा निरन्तर रहने प्रतिबद्धतासहित कार्यरत छु।

यी केही दिनहरू मेरो शैक्षिक जीवनका सबैभन्दा गहिरा सिकाइ बने। कक्षाकोठामा पढिएका Trauma, Grief, Loss, Psychological First Aid, Resilience वा Person-Centred Care जस्ता अवधारणाहरू यहाँ पुस्तकका परिभाषा थिएनन्; ती मानिसहरूको जीवन्त अनुभव बनेर मेरो अगाडि उभिएका थिए। मैले केवल उनीहरूको कथा सुनेकी थिइनँ। मैले उनीहरूको मौनता सुनेँ। रोकिएका आँसु देखेँ। शब्दले व्यक्त गर्न नसक्ने पीडा महसुस गरेँ। र एउटै विपद्ले मानिसको मनमा कति फरक र भिन्न प्रभाव पार्न सक्छ भन्ने यथार्थलाई प्रत्यक्ष रूपमा बुझ्ने अवसर पाएँ।

शिविरमा मैले बालबालिका, किशोरकिशोरी, युवा, वयस्क र ज्येष्ठ नागरिकसँग समय बिताएँ। उनीहरूसँग संवाद गर्दै जाँदा एउटा कुरा अत्यन्त स्पष्ट हुँदै गयो त्यो के भने घटना उस्तै प्रकारको भएपनि व्यक्ति अनुसार फरक अनुभव।

काउन्सेलिङ मनोविज्ञानले पनि यही भन्छ। कुनै पनि आघातजन्य घटना (Traumatic Event) प्रति व्यक्तिको प्रतिक्रिया उसको व्यक्तित्व, विगतका अनुभव, सामाजिक समर्थन, सांस्कृतिक सन्दर्भ, सामना गर्ने क्षमता (Coping Mechanisms) र जीवनप्रतिको अर्थसँग जोडिएको हुन्छ। त्यसैले एउटै बाढीबाट प्रभावित भएका दुई व्यक्तिको भावनात्मक प्रतिक्रिया पनि पूर्णतः फरक हुन सक्छ।

धेरै प्रभावित व्यक्तिहरूले चर्को आवाज सुन्नासाथ झस्किने, मुटुको धड्कन तीव्र हुने, शरीर काँप्ने र बाढी आउनुअघि सुनेको गर्जन अझै कानमा गुन्जिरहेको अनुभव सुनाउनुभयो। कसैले आँखा बन्द गर्दा आफ्नै घर बगिरहेको दृश्य देखिने, कसैले आफ्ना प्रियजनहरू अन्तिम पटक देखिएको क्षण बारम्बार सम्झना आउँने त कतिपयका लागि सामान्य वर्षाको आवाजसमेत पुनः त्यही भयावह दिनको स्मरण गराउने ट्रिगर बनेको कुराहरु बताउनु भयो।

यी प्रतिक्रियाहरूलाई धेरै मानिसहरूले “कमजोरी” वा “धैर्य गुमाउनु” भनेर बुझ्न सक्छन्। तर मनोवैज्ञानिक दृष्टिले हेर्दा यस्ता अनुभवहरू जीवनलाई नै जोखिममा पार्ने घटनापछि देखिन सक्ने Acute Stress Responses हुन्। आघातपछिको प्रारम्भिक चरणमा मस्तिष्क र शरीर दुवैले अझै खतरा समाप्त भएको छैन भन्ने सन्देश दिन खोजिरहेका हुन्छन्। त्यसैले झस्किने, निद्रा नलाग्ने, बारम्बार घटना सम्झिने, अत्यधिक सतर्क रहने वा सामान्य आवाजबाट पनि डराउने जस्ता प्रतिक्रियाहरू असामान्य परिस्थितिमा देखिने सामान्य मानवीय प्रतिक्रिया हुन्।

दिनको समयमा मानिसहरूको भीडभाड, भेटघाट र विभिन्न गतिविधिले केही समयका लागि उनीहरूको ध्यान अन्यत्र मोडिन्थ्यो। तर साँझ पर्दै जाँदा शिविरको वातावरण फेरि बदलिन्थ्यो। धेरैले रात पर्न थालेपछि मन भारी हुने, निद्रा नलाग्ने, आँखा चिम्लिँदा बाढीको दृश्य फेरि देखिने, र “आज पनि केही हुन्छ कि?” भन्ने डरले रातभर जागा बस्ने अनुभव सुनाउनुभयो। केहीले “रात नै सबैभन्दा गाह्रो हुन्छ” भन्नुभयो।

त्यो क्षण मैले एउटा गहिरो कुरा महसुस गरेँ, विपद्ले मानिसबाट केवल घर, सम्पत्ति वा आफन्त मात्र खोस्दैन; उसबाट सुरक्षाको अनुभूति (Sense of Safety) पनि खोसिदिन्छ। जब मानिसले आफू सुरक्षित छु भन्ने आधारभूत विश्वास गुमाउँछ, संसार नै उसलाई अनिश्चित र भयावह लाग्न थाल्छ। त्यसैले विपद्पछिको मनोसामाजिक सहयोगको पहिलो उद्देश्य सल्लाह दिनु होइन; मानिसलाई फेरि सुरक्षित महसुस गराउन सहयोग गर्नु हो।

शिविरमा बसेर मैले सुनेका सयौँ कथाहरूमध्ये एउटा समानता थियो, सबैले केही न केही गुमाएका थिए, तर सबैको गुमाइको अनुभव एउटै थिएन।

कसैले आफ्नो जीवनसाथी गुमाउनुभएको थियो। कसैले बाबुआमा। कसैले सन्तान। कसैले आफ्नो घर। कसैले वर्षौँको मेहनतले बनाएको सम्पत्ति र कतिपयले त आफ्नो सम्पूर्ण गाउँसँग जोडिएको पहिचान नै गुमाएको थियो। तर यिनै सबै गुमाइहरूमध्ये सबैभन्दा जटिल अवस्था उनीहरूको थियो, जसका आफन्त अझै बेपत्ता थिए।

शिविरमा दिनहुँ एउटा दृश्य दोहोरिन्थ्यो। उद्धार टोलीबाट नयाँ सूची आयो कि मानिसहरू हतारिँदै आफ्ना आफन्तको नाम खोज्न पुग्थे। कसैको भेटिएको खबर आयो भने एकछिनका लागि आशा पलाउँथ्यो। मोबाइलको घण्टी बज्नेबित्तिकै “सायद अहिले उहाँकै खबर आयो” भन्ने विश्वासले तत्काल फोन उठाइन्थ्यो। केही क्षणपछि फेरि मौनता छाउँथ्यो।

यही अवस्थालाई मनोविज्ञानमा Ambiguous Loss अर्थात् अनिश्चित गुमाइ भनिन्छ। Pauline Boss ले प्रस्तुत गर्नुभएको यो अवधारणाले स्पष्ट गर्छ कि जब कुनै व्यक्तिको मृत्यु वा जीवनको अवस्था निश्चित हुँदैन, तब शोक (Grief) ले आफ्नो स्वाभाविक दिशा लिन सक्दैन। मानिस न पूर्ण रूपमा आशा छोड्न सक्छ, न पूर्ण रूपमा यथार्थ स्वीकार गर्न सक्छ। ऊ निरन्तर आशा र यथार्थबीचको भावनात्मक द्वन्द्वमा बाँच्छ।

मैले धेरै अभिव्यक्तिहरू सुनेँ:

“कतै उहाँहरू अझै कतै पर्खिरहनुभएको त छैन?”

“हामीले खाना कसरी खाने? उहाँहरूले पनि त केही खानुभएको छैन होला।”

“अझै एउटा फोन आयो भने सबै बदलिन सक्छ भन्ने लागिरहन्छ।”

यी वाक्यहरू केवल भावनात्मक अभिव्यक्ति थिएनन्। ती अनिश्चित शोक, असहायता, आशा र प्रेमको मनोवैज्ञानिक मिश्रण थिए।

शोक आफैँमा एउटा समान अनुभव होइन। काउन्सेलिङ मनोविज्ञानले शोकलाई अत्यन्त व्यक्तिगत प्रक्रिया मान्छ। शिविरमा मैले यही कुरा बारम्बार अनुभव गरेँ। कतिपय व्यक्तिहरू खुलेर रोइरहनुभएको थियो। केही व्यक्तिहरू असाध्यै शान्त देखिनुहुन्थ्यो, तर उहाँहरूको आँखाले धेरै कुरा भनिरहेको हुन्थ्यो। कसैले एउटै घटना धेरै पटक सुनाएर आफ्ना भावनाहरू व्यवस्थित गर्ने प्रयास गरिरहनुभएको थियो। कसैले भने घटनाको विषयमा एक शब्द पनि बोल्न सकिरहनुभएको थिएन।

मलाई लाग्छ कुनै पनि व्यक्तिको शोकलाई अर्को व्यक्तिको शोकसँग तुलना गर्न सकिँदैन। हामी बाहिरबाट कसैले कम रोयो वा धेरै रोयो भनेर उसको पीडाको गहिराइ मापन गर्न सक्दैनौँ। शोकको कुनै एउटै सही तरिका हुँदैन।

मलाई सबैभन्दा बढी भावुक बनाएका संवादहरू श्रीमान् गुमाएका केही आमाहरूसँग भएका थिए। उनीहरूको दुःख केवल जीवनसाथी गुमाउनुमा सीमित थिएन। त्यो दुःखसँगै भविष्यको अनिश्चितता, आर्थिक जिम्मेवारी, बालबालिकाको पालनपोषण र आफ्नै अस्तित्वबारे प्रश्नहरू जोडिएका थिए।

एक आमाले निकै शान्त स्वरमा भन्नुभयो,

“राति निद्रा लाग्दैन। कहिलेकाहीँ लाग्छ, अब बाँचेर के गर्नु? सबै सकियो।”

उहाँ केहीबेर रोकिनुभयो।

त्यसपछि आँसु पुछ्दै फेरि भन्नुभयो,

“तर मेरा साना बच्चाहरूलाई सम्झिन्छु। उनीहरू अहिले नै बाबाविहीन भएका छन्। यदि मैले पनि हार मानेँ भने उनीहरू पूर्ण रूपमा अनाथ हुन्छन्। त्यसैले फेरि बाँच्नुपर्छ भन्ने लाग्छ।”

त्यो संवाद सुनेर मैले मनोविज्ञानको पुस्तकमा पढेको Protective Factors को वास्तविक अर्थ देखेँ। कहिलेकाहीँ मानिसलाई जीवनतर्फ फर्काउने सबैभन्दा ठूलो शक्ति औषधि वा कुनै प्रविधि होइन; सम्बन्ध, जिम्मेवारी, मातृत्व, आशा वा जीवनको अर्थ हुन सक्छ। Viktor Frankl ले भनेझैँ, जब मानिसले बाँच्नुपर्ने कारण भेट्टाउँछ, उसले असाध्यै कठिन परिस्थितिसँग पनि सामना गर्न सक्छ।

यस्ता संवादहरूमा मेरो भूमिका कुनै निर्णय सुनाउने, सल्लाह दिने वा तुरुन्तै समाधान खोजिदिने थिएन। मेरो पहिलो जिम्मेवारी उनीहरूको अनुभवलाई सम्मान गर्नु, उनीहरूको भावनालाई Emotional Validation गर्नु र उनीहरूलाई सुरक्षित रूपमा आफ्ना भावना व्यक्त गर्न सक्ने वातावरण उपलब्ध गराउनु थियो। धेरैजसो अवस्थामा मानिसलाई उत्तरभन्दा पहिले सुन्ने व्यक्ति चाहिन्छ।

यी अनुभवहरूले मलाई Carl Rogers को Person-Centred Approach को महत्त्व पुनः सम्झाइदियो। Rogers ले भनेझैँ, Empathy, Congruence र Unconditional Positive Regard कुनै अतिरिक्त सीप होइनन्; यी नै उपचारात्मक सम्बन्ध (Therapeutic Relationship) का आधार हुन्। विपद्को सन्दर्भमा त झन् यी गुणहरू अझ अपरिहार्य हुन्छन्।

मनोसामाजिक सहयोगको क्रममा मैले कसैको भावनालाई सानो बनाउने काम  कहिले गरिन। “बलियो बन्नुस्”, “नरोनुस्”, “सबै ठीक हुन्छ” जस्ता वाक्यहरूले व्यक्तिको पीडालाई झन् बढाउने जोखिम हुन्छ। यसको सट्टा, “म तपाईंको कुरा सुनिरहेको छु”, “तपाईंले जे महसुस गरिरहनुभएको छ, त्यो यस्तो परिस्थितिमा स्वाभाविक हुन सक्छ”, “तपाईं अहिले एक्लो हुनुहुन्न” भन्ने उपस्थितिले धेरै गहिरो अर्थ राख्छ।

यही अनुभवले मलाई सिकायो, कहिलेकाहीँ उपचार शब्दमा होइन, सम्बन्धमा हुन्छ।

 

झन् बालबालिकासँग बिताएका समय मेरो यो काउन्सेलिंगको सबैभन्दा अर्थपूर्ण अनुभव हो भन्ने लाग्छ। वयस्कहरूले आफ्ना पीडालाई शब्दमा व्यक्त गर्न सक्थे, तर धेरै बालबालिकाका लागि त्यो सम्भव थिएन। उनीहरूका भावना कहिले मौनतामा देखिन्थे, कहिले खेलमा, त कहिले चित्रमा।

यही कारणले हामीले Free Art Activity सञ्चालन गर्‍यौँ। मैले उनीहरूलाई कुनै निश्चित विषय दिएर चित्र बनाउन लगाइनँ। केवल यति भनेँ, “तिमीहरूको मनमा अहिले जे आउँछ, त्यही चित्र कोर।”

चित्रहरू आउन थालेपछि मैले एउटा गहिरो मनोवैज्ञानिक यथार्थ देखेँ।

आफ्ना परिवारका सदस्य गुमाएका धेरै बालबालिकाले सम्पूर्ण परिवार फेरि सँगै रहेको चित्र कोरे। कसैले आफ्नै घर बनाए त कसैले आफ्नो विद्यालयको, कसैले गाउँको बाटो। ती चित्रहरूमा बाढी थिएन, बरु विपद् आउनुअघिको सामान्य जीवन थियो।

यी चित्रहरूलाई मैले कुनै Diagnosis गर्ने माध्यमका रूपमा कहिल्यै हेरिनँ। बरु, ती उनीहरूको Internal Emotional World बुझ्ने एउटा सुरक्षित झ्याल बने। बालमनोविज्ञानले पनि बालबालिकाले आफ्ना भावना शब्दभन्दा प्रतीक, खेल र सिर्जनात्मक अभिव्यक्तिमार्फत सहज रूपमा व्यक्त गर्ने बताउँछ। त्यसैले चित्रहरूमा देखिएको घर केवल एउटा घर थिएन; त्यो सुरक्षा, अपनत्व र हराएको संसारप्रतिको उनीहरूको आकांक्षाको प्रतीक थियो।

कतिपय बालबालिका खेलिरहेका देखिन्थे। पहिलो नजरमा हेर्दा उनीहरू सामान्य देखिन्थे। तर खेल्ने क्रममा उनीहरूले बारम्बार बाढी, उद्धार, हराएका परिवार वा डरका प्रसङ्गहरू अभिनयमार्फत दोहोर्याइरहेका थिए। यसले मलाई फेरि सम्झायो, बालबालिकाले धेरैजसो आफ्नो आघातलाई Play र Creative Expression मार्फत प्रक्रिया (Process) गर्छन्। त्यसैले उनीहरू हाँसिरहेका छन् भनेर उनीहरू पूर्ण रूपमा ठीक भइसकेका छन् भन्ने निष्कर्ष निकाल्नु उचित हुँदैन।

यस अवधिमा अर्को एउटा यथार्थ पनि मैले नजिकबाट महसुस गरेँ। प्रभावित व्यक्तिहरूका आफन्त, निरन्तर उनीहरूको पीडा सुनिरहेका स्वयंसेवकहरू, स्वास्थ्यकर्मीहरू र उद्धारकर्मीहरू स्वयं पनि भावनात्मक रूपमा प्रभावित भइरहेका थिए। दिनभर अरूका आँसु, असहायता र शोकसँग बसिरहँदा उनीहरूमा पनि भावनात्मक थकान देखिनु स्वाभाविक थियो।

मनोविज्ञानमा यसलाई Secondary Traumatic Stress वा Compassion Fatigue का रूपमा बुझिन्छ। अर्थात्, प्रत्यक्ष रूपमा विपद् भोगेको नभए पनि निरन्तर अरूको पीडासँग जोडिइरहँदा सहयोग गर्ने व्यक्तिहरूमा पनि मानसिक तथा भावनात्मक असर पर्न सक्छ। यही कारणले WHO तथा IASC का मनोसामाजिक सहयोगसम्बन्धी मार्गनिर्देशनहरूले प्रभावित व्यक्तिहरूसँगै helpers’ well-being र self-care लाई पनि महत्त्व दिएका छन्।

यी दिनहरूमा मैले आफ्नो भूमिकालाई बारम्बार पुनःपरिभाषित गरेँ। म त्यहाँ कसैको जीवनको निर्णय गर्न, दुःख हटाउन वा तुरुन्तै सबै समस्या समाधान गर्न गएकी थिइनँ। मेरो भूमिका उनीहरूको यात्रामा केही समयका लागि साथ दिने थियो। Psychological First Aid ले पनि यही सिकाउँछ। सहयोग गर्ने व्यक्तिको जिम्मेवारी सबै समस्या समाधान गर्नु होइन; मानिसलाई सुरक्षित महसुस गराउन, ध्यानपूर्वक सुन्न, तत्काल आवश्यक सहयोगसँग जोड्न र उसभित्र रहेको सामना गर्ने क्षमतालाई पुनः सक्रिय बनाउन सहयोग गर्नु हो।

काउन्सेलिङ मनोविज्ञानले हामीलाई सिकाउने एउटा महत्त्वपूर्ण कुरा के हो भने Empathy भनेको कसैको पीडाप्रति दया देखाउनु मात्र होइन; उसले संसारलाई जुन दृष्टिले अनुभव गरिरहेको छ, त्यसलाई सम्मानपूर्वक बुझ्ने प्रयास गर्नु हो। त्यसैगरी Unconditional Positive Regard भनेको व्यक्तिको अनुभवलाई मूल्याङ्कन नगरी स्वीकार गर्नु हो। विपद्को मैदानमा यी सिद्धान्तहरू पुस्तकका अध्याय होइनन्; प्रत्येक संवादमा अभ्यास गर्नुपर्ने मानवीय मूल्य हुन्।

विगत सात दिनदेखि शिविरमा काम गर्दै गर्दा मैले धेरै पटक महसुस गरेँ, कहिलेकाहीँ मैले बोलेका शब्दभन्दा मेरो मौन उपस्थिति, केही क्षणको धैर्य र बिना हतार सुन्ने क्षमताले बढी अर्थ राख्थ्यो। धेरै प्रभावित व्यक्तिहरूले अन्तिममा एउटै कुरा भन्नुभयो “आज कसैलाई आफ्नो कुरा भन्न पाएँ, मन केही हल्का भयो।”

सायद, यही काउन्सेलिङको सबैभन्दा सुन्दर पक्ष हो। हामी सधैँ मानिसको पीडा हटाउन सक्दैनौँ, तर त्यो पीडाको यात्रामा उनीहरूलाई एक्लो महसुस हुन नदिन सक्छौँ।

म यो लेख लेखिरहेको क्षणमा पनि मेरो स्वयंसेवी यात्रा समाप्त भएको छैन। म अझै पनि शिविरमा प्रभावित व्यक्तिहरूसँगै कार्यरत छु र उहाँहरू त्यहाँ रहुञ्जेल मनोसामाजिक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धतासहित काम गरिरहेकी छु। प्रत्येक दिन नयाँ अनुहार भेटिन्छन्। नयाँ कथा सुनिन्छ। नयाँ आँसु देखिन्छन्। तर त्यहीसँगै मानव सहनशीलता, आशा र पुनः उठ्ने अद्भुत क्षमताका नयाँ उदाहरणहरू पनि देख्न पाइन्छ।

एक काउन्सेलिङ मनोविज्ञानकी विद्यार्थीका रूपमा यी अनुभवहरूले मलाई एउटा गहिरो व्यावसायिक पाठ दिएका छन्। हरेक व्यक्ति आफ्नै कथा लिएर आउँछ, त्यसैले एउटै सिद्धान्त वा एउटै हस्तक्षेपले सबैलाई समेट्न सक्दैन। Trauma-informed, culturally sensitive र person-centred दृष्टिकोण नै विपद्पछिको प्रभावकारी मनोसामाजिक सहयोगको आधार हुनुपर्छ।

नेपाल प्राकृतिक विपद्को उच्च जोखिममा रहेको देश हो। त्यसैले अब हाम्रो विपद् व्यवस्थापन संयन्त्रले मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोगलाई वैकल्पिक सेवा होइन, अत्यावश्यक मानवीय सेवाका रूपमा स्वीकार गर्नुपर्छ। राहत सामग्री, अस्थायी आवास र स्वास्थ्य सेवाजत्तिकै आवश्यक ठानिनुपर्छ प्रशिक्षित मनोसामाजिक परामर्शदाता, मनोवैज्ञानिक काउन्सेलिङ, बालमैत्री स्थान, मनोपरामर्श, समुदायमा आधारित मनोसामाजिक सहयोग र दीर्घकालीन मानसिक स्वास्थ्य अनुगमन पनि।

किनभने विपद्पछिको पुनर्निर्माण केवल घर, सडक र पुलको पुनर्निर्माण होइन; त्यो मानिसको आशा, सम्बन्ध, विश्वास र जीवनप्रतिको अर्थ पुनःनिर्माण गर्ने प्रक्रिया पनि हो।

मैले शिविरमा बिताएका यी दिनहरूले मलाई विपद्ले घर बगाउन सक्छ, सम्पत्ति खोस्न सक्छ, जीवनका योजना परिवर्तन गर्न सक्छ। तर यदि समाज, राज्य, मानसिक स्वास्थ्यका पेशेवर र समुदाय संवेदनशीलताका साथ एकअर्काको साथमा उभिन सके भने आशालाई कहिल्यै बगाउन सक्दैन भन्ने कुरा प्रष्टसँग सिकाएका छन्।

र अन्ततः,

भत्किएको घर पुनः बनाउन इँटा र सिमेन्ट चाहिन्छ। तर भत्किएको मन पुनः उभ्याउन संवेदनशीलता, समय, मनोपरमर्शको सीप, विश्वास र मानवीय साथ चाहिन्छ। नेपालको विपद् व्यवस्थापनले जब यी दुवैलाई समान महत्त्व दिन थाल्छ, तब मात्र हाम्रो पुनर्स्थापना साँच्चिकै पूर्ण हुनेछ।

लेखक त्रिभुवन विश्वविद्यालय अन्तर्गत मास्टर्स इन काउन्सेलिङ साइकोलोजी (तेस्रो सत्र)को विद्यार्थी साथै अनुभव प्राप्त 
मनोसामाजिक परामर्शदाता हुनुहुन्छ।

प्रतिकृया दिनुहोस्