यदि श्रीमानसँग रातदिन कचिंगल गर्ने हो भने तीजको व्रत किन बस्ने ?
यो प्रश्न उच्छृंखल होइन, यो तीजको सबैभन्दा इमानदार प्रश्न हो।
हामीले तीजलाई रातो साडी, मेहन्दी, दर खाने दिन र फेसबुकमा फोटो हाल्ने चाड बनायौं। तर तीजको मूल प्रश्न कहिल्यै साडी थिएन, सम्बन्ध थियो।
१. व्रत शरीरका लागि होइन, संकल्पका लागि हो
शास्त्रमा तीज शिव र पार्वतीको कथा हो। पार्वतीले शिवलाई पति रूपमा पाउन गरेको कठोर तपस्या। त्यसैले यो व्रतको अर्थ भोको बस्नु होइन, एकचित्त हुनु हो।
एक दिन पानी समेत नखाई बस्ने अनि ३६४ दिन श्रीमानलाई शत्रु जस्तो व्यवहार गर्ने हो भने त्यो व्रत होइन, त्यो नाटक हो। धर्मले कहिल्यै भनेन – भोको बस र झगडा गरिरह। धर्मले भन्यो – मन शुद्ध गर।
यदि मनमा माया छैन भने पेट भोको राखेर के अर्थ ?
२. हामी कसका लागि व्रत बस्छौं ?
धेरै महिलाले मनमनै भन्नुहुन्छ – “समाजले बस भन्छ, त्यसैले बसेको। सासूले के भन्लिन्, छिमेकीले के भन्लिन्।”
त्यहाँबाटै व्रत कमजोर हुन्छ।
तीज कसैलाई देखाउन बस्ने व्रत होइन। यो दुई जनाको बीचको मौन सम्झौता हो – “तिम्रो आयु लामो होस्, हाम्रो सहयात्रा मधुर होस्।”
यदि त्यो सहयात्रा नै हरेक दिन गाली, अपमान, कचिंगल र आँसुमा बित्छ भने एक दिनको निर्जल व्रतले आयु लम्ब्याउँदैन, बरु सम्बन्धको घाउ अझै देखाउँछ। भगवान शिवलाई पार्वतीको भोक होइन, प्रेम चाहिएको थियो।
३. व्रत बस्नु अघि सोध्नुपर्ने ३ प्रश्न
रातो टीका लगाउनु अघि ऐना अगाडि उभिएर आफैंलाई सोध्नुस्:
क) के म यो मान्छेलाई साँच्चै सम्मान गर्छु? सम्मान भनेको डर मान्नु होइन, उसको अस्तित्वलाई स्वीकार्नु हो।
ख) के मेरो झगडा समस्याका लागि हो कि स्वभाव भएको छ? समस्या समाधान गर्न गरिने बहस बेग्लै हो, हरेक कुरामा जित्नैपर्ने अहंकार बेग्लै हो।
ग) यो व्रतले मलाई असल पत्नी मात्र होइन, असल मान्छे बनाउँछ? यदि व्रतले एक दिन भए पनि बोली मीठो बनाउँछ, रिस थाम्न सिकाउँछ भने त्यो व्रत सफल भयो।
यदि यी तीन प्रश्नको उत्तर ‘छैन’ छ भने व्रत बस्नु भन्दा एक दिन श्रीमानसँग शान्त भएर चिया खाँदै कुरा गर्नु धेरै ठूलो पूजा हुन्छ।
अन्त्यमा
तीजको व्रत श्रीमानको आयु लम्ब्याउन मात्र होइन, आफ्नो जिब्रो र अहंकारको आयु घटाउन पनि हो।
रातदिन कचिंगल गरेर, मनमा विष राखेर बसेको व्रतले शिव प्रसन्न हुनुहुन्न। बरु त्यही दिन एउटा निर्णय गर्नुस् – “आजदेखि म भोकभन्दा बढी आफ्नो बोलीमा व्रत बस्छु, रिसमा व्रत बस्छु, अर्कालाई होच्याउने बानीमा व्रत बस्छु।”
त्यस्तो तीजले मात्र दरबारको गीत होइन, घरको शान्ति पनि फर्काउँछ।
भोको पेटले होइन, भरिएको मनले मात्र सम्बन्ध जोगिन्छ।
नोट : सकारात्मक तरिकाले लिनु होला। आफ्नो जीवन हो आफैंले उत्कृष्ट पार्नुपर्छ । संसार त केवल रमिता हेर्न पर्खिएर बसेको हुन्छ।

