
म, काठमाडौंको एक प्रतिष्ठित संस्थामा Special Child Educator का रूपमा कार्यरत छु। विशेष बालबालिकासँग काम गर्न थालेको पनि तीन वर्षभन्दा बढी भैसक्यो। यो तीन वर्षको अवधिमा मैले यी बालबालिका, समाजले दिएका विभिन्न उपमा भन्दा धेरै माथि छन् भन्ने कुरा गहिरोसँग महसुस गरेको छु। मलाई लाग्छ मेरा यी विद्यार्थीहरु केवल कुनै syndrome, disability वा diagnosis होइनन् बरु आफ्नै भावना, क्षमता, सम्भावना, सपना र सुन्दर संसार बोकेका बालबालिकाहरु हुन्।
समाजले उनीहरूलाई कहिले “विशेष”, कहिले “असक्षम”, कहिले कुनै syndrome वा disability को नामले चिनाउँछ। तर मेरो लागि उनीहरू सबैभन्दा पहिले माया, सम्मान, सुरक्षा, अवसर र स्वीकार्यताको समान अधिकार भएका विद्यार्थीहरु हुन्।
म हरेक दिन विभिन्न प्रकारका developmental conditions, syndromes तथा learning र behavioural challenges भएका बालबालिकाहरुले घेरिएको हुन्छु र मलाई थाहा छ यी प्रत्येक बालबालिकाको आवश्यकता फरक छ। कसैलाई communication मा कठिनाइ छ भने कसैलाई sensory challenges छ त कसैलाई behaviour regulation मा सहयोग चाहिन्छ भने कसैलाई दैनिक जीवनका सामान्य सीप सिक्न पनि लामो समय र निरन्तर अभ्यास आवश्यक पर्छ।
त्यसैले Special Education मेरो लागि केवल पाठ्यक्रम पढाउने पेशा होइन। यो ज्ञान, धैर्य, करुणा, व्यवहारिक सीप र निरन्तर सिकाइको यात्रा हो।
मैले उनीहरूलाई सिकाउँदै गर्दा उनीहरूबाट पनि धेरै कुरा सिकेकी छु। मैले किताब र तालिमबाट प्राप्त गरेको सैद्धान्तिक ज्ञानलाई उनीहरूको वास्तविक आवश्यकतासँग जोडेर व्यवहारमा उतार्ने प्रयास गरेकी छु। मेरो विद्यार्थीहरु मध्य एकले मात्र पनि एउटा शब्द बोल्न सिक्दा, आफ्नै हातले कुनै काम गर्न सफल हुँदा, आफ्नो भावना व्यक्त गर्न खोज्दा वा पहिलेभन्दा केही समय बढी ध्यान दिन सक्दा मात्र पनि त्यसलाई मैले ठूलो उपलब्धिका रूपमा अनुभव गर्ने गरेकी छु। साथै मलाई लाग्छ यो यात्राको सबैभन्दा सुन्दर पक्ष भनेको बालबालिकाले देखाउने प्रेम र भरोसा नै हो।
कहिलेकाहीँ उनीहरू मेरो हात समातेर बस्छन्। कहिलेकाहीँ मलाई देख्नेबित्तिकै मुस्कुराउँछन्। कहिलेकाहीँ आफ्नो भावना शब्दमा व्यक्त गर्न नसके पनि उनीहरूको आँखाले धेरै कुरा भनिरहेको हुन्छ। त्यो विश्वास “तपाईं मेरो साथमा हुनुहुन्छ” भन्ने मौन भरोसा मेरो पेशागत यात्राको सबैभन्दा ठूलो प्रेरणा हो। तर यो यात्रा सधैँ सहज हुँदैन।
कहिलेकाहीँ बालबालिकाले आफ्नो रिस, frustration, sensory overload वा असहजतालाई शब्दमा व्यक्त गर्न नसक्दा उनीहरूको behaviour शारीरिक रूपमा चुनौतीपूर्ण बन्ने गर्छ। त्यस्तो अवस्थामा educator वा therapist ले धैर्यपूर्वक परिस्थिति बुझ्नुपर्छ, बालबालिकाको सुरक्षा सुनिश्चित गर्नुपर्छ र आफूलाई पनि सुरक्षित राख्नुपर्छ।
कहिलेकाहीँ उनीहरूको रिसको क्रममा educator वा therapist ले शारीरिक चोटसमेत सहनुपर्ने अवस्था आउन सक्छ। ती चोटहरू केवल शरीरमा पर्ने चोट होइनन्; कहिलेकाहीँ मानसिक रूपमा पनि थकाउने हुन्छन्। तर त्यसको अर्थ बालबालिकाप्रति हाम्रो माया वा सम्मान कम हुनु होइन। बरु त्यस्ता परिस्थितिले हामीलाई behaviour को पछाडि रहेको unmet need, communication difficulty, sensory need वा emotional distress बुझ्न अझ संवेदनशील हुनुपर्छ भन्ने कुरा बुझाउँछ।
त्यसकारण मलाई लाग्छ आगामी दिनहरुमा Special Educator, Therapist तथा अन्य frontline professionals को occupational safety र insurance को विषय अब महत्वका साथ अगाडी सारिनु पर्छ।
हामी बालबालिकाको विकास, शिक्षा, communication, behaviour र independence का लागि काम गर्छौँ। हामी उनीहरूको प्रगतिको लागि समय, ऊर्जा, भावना र सीप लगानी गर्छौँ। तर यस क्रममा हामी आफैँ पनि occupational risk मा हुन्छौँ भन्ने कुरालाई संस्थागत रूपमा अब स्वीकार गर्न नितान्त आवश्यक छ।
प्रत्येक Special Educator, Therapist तथा यस्ता बालबालिकासँग प्रत्यक्ष काम गर्ने professional का लागि नियमित professional training भए जस्तै अब देखि उचित health तथा accident insurance, workplace safety policy, आवश्यक protective measures, र psychological support हुनु अत्यन्त आवश्यक छ।
Insurance माग्नु कुनै अतिरिक्त सुविधा माग्नु होइन। यो हाम्रो पेशागत जोखिमको उचित व्यवस्थापन हो।
हामीले बालबालिकाको सुरक्षा जति महत्वपूर्ण ठान्छौँ, त्यति नै उनीहरूसँग काम गर्ने professionals को सुरक्षा पनि महत्वपूर्ण ठानिनु पर्छ। सुरक्षित educator नै अझ सुरक्षित, धैर्य पूर्वक र प्रभावकारी रूपमा बालबालिकाको साथमा उभिन सक्छ।
मेरो लागि Special Educator एउटा जागिर मात्र होइन। यो सम्बन्ध हो, जिम्मेवारी हो, सिकाइ हो र मानवतासँग जोडिएको यात्रा हो।
यी बालबालिकाले मलाई प्रगति सधैँ ठूलो परिवर्तनमा देखिँदैन भन्ने कुरा सिकाएका छन्। कहिलेकाहीँ एउटा मुस्कान प्रगति हो। एउटा आँखाको सम्पर्क प्रगति हो। एउटा मात्र शब्द उच्चारण गर्न सक्नु प्रगति हो। आफैँ जुत्ता लगाउने प्रयास प्रगति हो। रिस आएको बेला आफूलाई शान्त पार्न सिक्नु प्रगति हो। र कहिलेकाहीँ educator को हात समातेर “म तपाईंलाई विश्वास गर्छु” भन्ने उनीहरूको मौन व्यवहार नै सबैभन्दा ठूलो उपलब्धि हो।
म उनीहरूलाई उनीहरुको उमेर, लिङ्ग, अवस्था, आदि विचार गरेर सिकाउनु पर्ने कुरा हरु सिकैरहेकै हुन्छु र संगसंगै’ उनीहरू पनि मलाई धैर्य, स्वीकार्यता, प्रेम र मानवताको अर्थ सिकाइरहेका हुन्छन्। त्यसैले मेरा यी विशेष बालबालिकाहरूका लागि मेरो एउटा मात्र चाहना भनेको उनीहरूलाई label ले होइन, सम्भावनाले हेरियोस्; कमजोरीले होइन, क्षमताले चिनियोस्; दयाले होइन, सम्मानले स्वीकार गरियोस्। र उनीहरूको यात्रामा साथ दिने हरेक Special Educator, Therapist, Caregiver र अन्य professionals लाई पनि सुरक्षित, सम्मानित र संस्थागत रूपमा संरक्षित वातावरण प्राप्त होस्।
हामी उनीहरूको भविष्य निर्माण गर्ने यात्राका सहयात्री हौँ। त्यसकारण उनीहरूको हात समातेर अगाडि बढाउँदै गर्दा हाम्रो हात पनि सुरक्षित हुन अत्यन्त जरुरी छ। हैन र ?
लेखक Neo Child Care Center मा Special Child Educator को रुपमा कार्यरत हुनुहुन्छ।
