यदि ‘बा : एक योद्धा’ चलचित्रको एउटा मात्र उत्कृष्ट कारण औंल्याउनुपर्यो भने, त्यो निःसन्देह दिव्यदेव पन्तको अभिनय नै हो। बाबुको भूमिकामा उनले दिएको प्रदर्शन केवल “राम्रो” भन्नु अन्यायपूर्ण हुन्छ। उनको दमदार अभिनय यस फिल्मको प्राण नै हो भन्दा फरक नपर्ला। समाजमा प्रायः देखिने सामान्य तर महान् बाबुको छवि, जसले आफ्ना सन्तानका लागि गरेको त्याग तपस्या कहिल्यै शब्दमा व्यक्त गर्दैन, बरु मौन बसेर वा घुमाउरो पाराले मात्र आफ्नो प्रेम देखाउँछन्। त्यही चरित्रलाई पन्तले यति आत्मीय ढंगले जीवन्त बनाएका छन् कि दर्शकले पर्दामा आफ्नै बाबुको छायाँ देखे झैं महसुस गर्छन्।
बाबुको चरित्र चित्रण गर्दा प्रायः दुई अतिमा पुग्ने जोखिम हुन्छ। या अत्यधिक नाटकीय भएर कृत्रिम देखिने, वा भाव शून्य भएर सपाट बन्ने। पन्तले यी दुवै खतरनाक धारहरूलाई अत्यन्त सीप पूर्वक जोगिएर, अत्यन्त संयमित तर मुटुको गहिराइसम्म पुग्ने खालको अभिनय दिएका छन्, जुन उनको परिपक्वता र वर्षौंको अनुभवको प्रत्यक्ष प्रतिबिम्ब हो।
उनको आवाजको मोड्युलेसन बाबु पात्रको सबैभन्दा शक्तिशाली हतियार बनेको छ। न्यानोपन, थकान, र भित्रभित्रै दबिएको वेदना। यी सबै विरोधाभासी भावनाहरूलाई एकैसाथ, एउटै स्वरमा, बिना कुनै बनावटीपन बोक्न सक्नु सामान्य कुरा होइन। यो प्रशिक्षणभन्दा बढी पात्र प्रतिको आन्तरिक र सूक्ष्म समझबाट मात्र सम्भव हुन्छ। जुन कुरा पन्तले यो चलचित्रमा प्रस्ट रूपमा प्रमाणित गरेका छन्। उनको संवाद प्रस्तुतिमा एउटा खास लय छ। न हतार, न ढिलाइ बरु प्रत्येक शब्दमा जीवनको तौल राखेर बोल्ने कला, जुन आजकाल विरलै कुनै कलाकारमा भेटिन्छ।
त्यस्तै, परिस्थिति अनुसार फेरिने उनको मुहारको सूक्ष्म भावभंगी हेर्दा लाग्छ यो कुनै अभिनय नभई साँच्चैको जीवन नै हो। खुसीको क्षणमा आउने न्यानो, थकित तर सन्तुष्ट मुस्कान, र संघर्ष अनि त्यागको क्षणमा आउने स्तब्ध, गहिरो पीडा, यी दुई ध्रुवीय भावना बीच यति सहज र स्वाभाविक ढंगले सार्न सक्नु उनको उच्चस्तरीय अभिनय सीपको परिचय हो।
फिल्मको मध्य भाग तिर आउने एउटा दृश्यले पन्तको यही अभिनय क्षमता र फिल्मको मर्म दुवैलाई राम्ररी उजागर गर्छ। छोराबुहारीको अष्ट्रेलिया जाने फ्लाइट छ, हतारको समय छ, बाजार गएका बाबु आइपुग्नु अघि नै आमा र बहिनीले मिलेर छोराबुहारीलाई बिदा गरिदिन्छन्। घर फर्किंदै गरेका बाबुले गाडी गुडिसकेको देख्छन् र पछिपछि दौडिन्छन्, गाडी रोकिँदैन, र नसकेर लड्छन्। यस्तो नाटकीय परिस्थितिमा पटकथाकारले ठूलो भावुक संवादको सट्टा एउटा एकदमै सानो, लगभग बेतुकको पंक्ति राखेका छन्। “घिउ… त्यसलाई घिउ सारै मन पर्छ… त्यो लिएर गएको भए हुने।”
यही एउटा वाक्यले दृश्यलाई असाधारण बनाइदिन्छ। बाबुले प्रत्यक्ष रूपमा आफ्नो पीडा वा माया व्यक्त गर्दैनन् बरु त्यसलाई एउटा सामान्य, व्यावहारिक वस्तुमार्फत घुमाउरो तरिकाले पोख्छन्। दर्शकले आफैं त्यो भावना पूरा गर्नुपर्छ, फिल्मले भनिदिँदैन। विशेष गरी यस दृश्यमा, हाँफ्दै-हाँफ्दै भाँचिएको स्वरमा उक्त संवाद बोल्ने तरिका त झन् अविस्मरणीय बनेको छ। त्यहाँ न आँसु छ, न चिच्याहट, तर त्यो एउटा साधारण वाक्यले नै हजार शब्दले भन्न नसक्ने पीडा बोकेको छ। यही नै हो साँचो अभिनयको कला, जहाँ कम बोलेर बढी भन्न सकिन्छ, र दिव्यदेव पन्तले यो कला यस फिल्ममा पूर्ण रूपमा साक्षात्कार गराएका छन्।
यही अप्रत्यक्षता नै यस दृश्यलाई निर्देशकीय हिसाबले परिपक्व र भावनात्मक हिसाबले अत्यन्त गहिरो बनाउँछ। फिल्मभरि यस्तै शैलीका छोटा, तीखा, र प्रतीकात्मक संवादहरू दोहोरिन्छन्, जसले दर्शकलाई अन्तसम्म तानिरहन्छ। यो निर्देशक तथा लेखक हरि लम्सालको लेखन दृष्टिको एउटा सचेत र प्रभावकारी रणनीति हो, जसले पहिलो निर्देशनमै आफ्नो कथा भन्ने शैलीप्रति गहिरो समझ भएको प्रमाणित गरेका छन्।
गीत संगीतका लागि दशकौं देखि परिचित हरि लम्सालको यही निर्देशकीय पदार्पणले नेपाली सिनेमामा फेरि एकपटक “पारिवारिक इमोसन” को शक्तिलाई सावित गरेको छ। ‘आचार्य’ र ‘जदौ’ सँगै एकै दिन प्रदर्शनमा आएको यो चलचित्र, हेर्दा साधारण लाग्ने विषयवस्तु भित्र लुकेको गहिरो भावनात्मक तहका कारण दर्शकको मन छुन सफल हुनेछ।
आर्टिस्टिक इन्टरटेनमेन्ट र निर्माता बसन्त लम्सालको यो फिल्म एउटा बाबुको सन्तान प्रतिको त्याग, जिम्मेवारी र मौन प्रेमको वरिपरि घुम्छ। कथा नौलो नभए पनि, यसको प्रस्तुतिकरणको तरिकाले यसलाई भिन्न बनाएको छ। ठूला लामा संवाद र कलाकारको रोनाधोना भन्दा साना, दैनिक क्षणहरू मार्फत भावना पोख्ने रणनीति यस फिल्मको सबैभन्दा उल्लेखनीय पक्ष हो, जसको श्रेय सिधै पटकथाकार र निर्देशक हरि लम्साललाई जान्छ।
फिल्मको मध्यान्तर पछि एकदमै रोचक मोड आउँछ, जब अनिल बुढाथोकीको पात्र सस्पेन्सको रूपमा पर्दामा उजागर हुन्छ। उनको पात्रले दिव्यदेव पन्तको पात्रलाई आफ्नै बाबुको झल्कोको रूपमा देख्छ। कथा भित्रको यो तह फिल्मलाई एउटा सामान्य रेखीय पारिवारिक ड्रामा भन्दा अलि बढी संरचनात्मक जटिलता दिन्छ र दर्शकलाई मध्यान्तर पछि पनि उत्तिकै तानिराख्छ। यो कथनको तह थप्ने निर्णय पनि निर्देशक हरि लम्सालको लेखनको एउटा चलाख पक्ष हो, जसले फिल्मलाई मात्र रैखिक भावुकतामा सीमित नराखी संरचनात्मक रोचकता पनि दिएको छ।
अभिनयको हिसाबले बुढाथोकीको प्रस्तुतिकरण उल्लेखनीय छ। आफ्नो पात्रको परिस्थिति अनुसार मुहारमा देखिने गाम्भीर्य निकै हेर्न लायक छ। यहाँ पनि, दिव्यदेव पन्तमा देखिएझैं, संवादभन्दा बढी मौन भावभंगीले नै पात्रको भित्री द्वन्द्व देखाउँछ। आफ्नो बाबुको छायाँ अर्को मानिसमा देख्दाको जटिल मनोदशा, सम्मान, विस्मय, र कतै-कतै पीडा मिसिएको सबै भाव बुढाथोकीले संयमित तवरले पर्दामा उतारेका छन्, जसले उक्त पात्रप्रति दर्शकहरूको हृदयमा महत्त्वपूर्ण भावनात्मक तह बनाइदिन्छ।
झरना थापा र उनकी छोरी सुहाना थापा पहिलोपटक पर्दामा वास्तविक जीवनकै आमा छोरी सम्बन्धमा देखिनु फिल्मको अर्को भावनात्मक पक्ष हो, जसले स्वाभाविक “केमेस्ट्री” ल्याएको छ। सागर खनाल, शिशिर शिवाकोटी, सुप्रिया शर्मा र शाभी थापाको सहअभिनयले कथालाई विविध कोणबाट प्रष्टसँग अगाडि बढाएको छ। यी सबै कलाकारको अभिनयले पनि दर्शकलाई झर्को लाग्न दिँदैन।
संगीतकारको परिचयबाट सिधै निर्देशनमा फड्को मार्नु पक्कै पनि सजिलो निर्णय होइन, तर हरि लम्सालले आफ्नो पहिलो प्रयासमा नै कथा भन्ने ढंग, भावनात्मक टोन, र संवाद लेखनमा देखाएको सूक्ष्मता प्रशंसनीय छ। ससाना सरल मनै छुने पारिवारिक संवाद र मध्यान्तरपछिको सस्पेन्सले उनी केवल भावुक दृश्य होइन, बरु राम्रोसंग कथा संरचना बुझ्ने निर्देशक पनि हुन् भन्ने देखाउँछ। नयाँ निर्देशकसँग प्रायः हुने गतिको सामान्य उतारचढाव ठाउँ ठाउँमा महसुस भए पनि, पहिलो प्रयासमा नै निर्देशकले एउटा आत्मविश्वासी सुरुवात गरेका छन्। साथै उनि संगीतकार पनि भएकाले फिल्मको साउन्डट्र्याकले हरेक दृश्यको भावनालाई राम्रैसँग न्याय गरेको छ, र सिनेमेटोग्राफी अनि सम्पादनले पनि निर्देशकको भावनात्मक सहजतालाई राम्ररी बुझेका छन।
‘बा : एक योद्धा’ नयाँपनको दाबी नगर्ने तर ईमानदार फिल्म हो। यसको वास्तविक शक्ति ठूला दृश्य वा नाटकीय मोडहरूमा होइन, बरु अति सामान्य साना र यथार्थवादी क्षणहरू र मध्यान्तरपछिको सस्पेन्स मोडमा लुकेको छ, जसले बाबु र छोराछोरीको सम्बन्धलाई अत्यन्त आत्मीय ढंगले पर्दामा उतार्छ। दिव्यदेव पन्तको असाधारण अभिनयले फिल्मलाई साधारणबाट असाधारणमा उठाएको छ भने, हरि लम्सालको आत्मविश्वासी र संवेदनशील निर्देशकीय दृष्टिले नै यस्तो सामान्य कथालाई पर्दामा उतार्ने आधार तयार पारिदिएको छ। पहिलो निर्देशनका लागि उनको यो निश्चय नै सम्मानजनक सुरुवात हो।
बा : एक योद्धा’ को सबैभन्दा ठूलो बलियो पक्ष भनेकै यसले परिवारको हरेक सदस्यलाई फरक-फरक कोणबाट छुन सक्नु हो। बा (बाबु) आफैंले पर्दामा आफ्नो प्रतिबिम्ब देख्छन्। छोराछोरीका लागि गरेको मौन त्याग, कहिल्यै शब्दमा नआएको प्रेम, र समयले खोसेको ती ससाना क्षणहरूको पीडा तेस्तै आमाले भने घरको त्यो शान्त स्तम्भको भूमिकामा आफुलाई पाउछिन्, जसले परिवारका दुई पुस्तालाई जोड्ने काम गरिरहेकी हुन्छिन्। छोराछोरीका लागि भने यो चलचित्र आत्म चिन्तनको ऐना बन्छ। कहिलेकाहीं जीवनको हतारमा हामीले आफ्नै बाबुको मौन पुकार बुझ्न ढिला गरेका त छैनौ? भन्ने प्रश्न उब्जाउछ र किशोर किशोरीहरूका लागि समेतयो फिल्मले पारिवारिक सम्बन्धको महत्त्व र आफ्नै घरका बा-आमाको त्याग बुझ्ने मेसो दिन्छ।
यसरी हेर्दा ‘बा : एक योद्धा’ कुनै एक उमेर समूह वा एउटै दृष्टिकोणमा सीमित रहँदैन बरु यो एउटा पुस्ताबाट अर्को पुस्तासम्म फैलिएको भावनात्मक पुल बन्छ, जहाँ हरेकले आफ्नै परिवारको छायाँ पर्दामा देख्न सक्छन्। यही कारणले यो फिल्म एक्लै हेर्नुभन्दा बाबु आमा, दाजुभाइ दिदीबहिनी सबैलाई साथमा लिएर हलमा गएर हेर्दा बढी अर्थपूर्ण बन्छ।

