मिस युनिभर्स नेपाल २०२६: छनोट देखि फिनाले सम्मको यात्रा, भव्यताका साथ यसपालीको मिस युनिभर्स छानिदै

असोज १० गते साँझ, काठमाडौँमा तय हुँदैछ यस वर्षकी सुन्दरी, जसले पहिरिनेछिन् मुकुट अनि नेपालको प्रतिनिधित्व गर्दै पुग्नेछिन् विश्व मञ्चसम्म।

Byशिक्षापाटी

२०८३ आश्विन ११, आइतवार

काठमाडौं — मिस युनिभर्स नेपाल २०२६ को “फाइनल शो अफ कोरोनेसन” भोली  काठमाडौंमा हुँदैछ। महिनौंअघि सुरु भएको यो यात्रा आज अन्तिम घडीमा पुगेको छ, जसमा दर्जनौं युवतीहरूको सपना र प्रतिस्पर्धा एउटा ताजको वरिपरि केन्द्रित भएको छ।

ग्लोबल ग्ल्यामर भेन्चरले जुलाई २०२६ मा सोल्टी काठमाडौंमै आयोजना गरेको एक विशेष कार्यक्रमबाट यस वर्षको प्रतियोगिताका लागि आवेदन खुला गरेको घोषणा गरेको थियो। “Be You. Be Beautiful.” नाराका साथ अघि बढेको यस संस्करणमा विवाहित र अविवाहित दुवै महिलाका साथै विदेशमा रहेका गैरआवासीय नेपाली महिलाहरूलाई पनि सहभागी हुन खुला गरिएको थियो। नेसनल डाइरेक्टर सङ्गीता पुरीले उक्त अवसरमा यस वर्षको तयारी विगतका वर्षहरूभन्दा अझ ठूलो स्तरमा भइरहेको जानकारी दिएकी थिइन्। कार्यक्रममा इलेक्ट्रिक गाडी ब्रान्ड डीपाल टाइटल प्रायोजकका रूपमा जोडिएको थियो भने एक्स-एज र अमृत प्युर सनफ्लावर आयल सह-प्रायोजक बनेका थिए।

आवेदन खुलेको केही साताभित्रै अगस्ट महिनामा सोल्टी काठमाडौंमै फिजिकल अडिसन सम्पन्न भएको थियो, जसमा देशभर र प्रवासमा रहेका गरी जम्मा १०६ जना प्रतिस्पर्धी सहभागी भएका थिए। निर्णायक मण्डलले प्रतिस्पर्धीहरूको आत्मविश्वास, व्यक्तित्व र प्रतिभाका आधारमा मूल्याङ्कन गरी शीर्ष २५ छनोट गरेको थियो। छनोट भएका प्रतिस्पर्धीहरूलाई त्यसपछि ग्रूमिङ, मेन्टरसिप र लिडरसिप विकाससम्बन्धी विभिन्न तालिम तथा कार्यक्रमहरूमा संलग्न गराइएको थियो।

यसैक्रममा प्रतिस्पर्धीहरू क्रमशः छनोट हुँदै टप १४ सम्म पुगे। हालसालै सोल्टी होटलमा आयोजित एक विशेष र्‍याम्प वाक कार्यक्रममा यी १४ जना प्रतिस्पर्धीले नेपाली कला, संस्कृति र मौलिक पहिचानलाई विश्वसामु पुर्‍याउने उद्देश्यका साथ नेपाली डिजाइनरहरूले तयार पारेका विशेष पोशाकमा आकर्षक प्रस्तुति दिएका थिए। यस वर्ष पनि कोरियोग्राफीको जिम्मेवारी प्रशान्त तामाकरले सम्हालेका छन्।

यी सबै चरणहरू पार गर्दै अन्ततः प्रतियोगिताको ग्रान्ड फाइनले अर्थात् “फाइनल शो अफ कोरोनेसन” काठमाडौँमा हुँदैछ। असोज ११ गते साँझ ४ बजेदेखि रेड कार्पेट कार्यक्रम सुरु हुनेछ भने मुख्य समारोह साँझ ५ बजेदेखि लाइभ प्रसारण हुनेछ। कार्यक्रमको टिकट खल्ती (Khalti by IME) मार्फत उपलब्ध गराइएको छ।

सर्व विधित नै छ, मिस युनिभर्स नेपालको नेतृत्व सन् २०२४ देखि नेसनल डाइरेक्टर सङ्गीता पुरीले गर्दै आएकी छिन्। ग्लोबल ग्ल्यामर भेन्चरले लाइसेन्स प्राप्त गरेयता उनी नै यस प्रतियोगिताको सम्पूर्ण योजना, तयारी र दिशानिर्देशको मुख्य नेतृत्वकर्ता रहँदै आएकी छन्। यसअघि उनले मिस युनिभर्स नेपाल २०२५ को रियालिटी शो संस्करणमा “ग्रान्ड ज्युरी”को भूमिका पनि निर्वाह गरेकी थिइन्।

मुकुट हस्तान्तरण पछि यस वर्षकी विजेताले नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय मिस युनिभर्स प्रतियोगितामा सहभागी हुने छिन्, जसतर्फ नेपाली दर्शकहरूको चासो अहिले उत्कर्षमा पुगेको छ।

प्रतिकृया दिनुहोस्