भाग भेडा भाग : दौडिरहेको समाज, मौन मानिस र रङ्गमञ्चका प्रश्नहरू

मंचमा भेडा दौडिरहँदा दर्शकहरुलाई एकछिन रोकिएर सोच्न बाध्य बनाउने नयाँ नाटक “भाग भेडा भाग”

Byशिक्षापाटी

२०८३ कार्तिक १२, बिहीवार

काठमाडौं। हाम्रो समाजमा भ्रष्टाचारको कुरा गर्नेहरू धेरै छन्, तर आफ्नै मौनताको कुरा गर्नेहरू विरलै भेटिन्छन्। आज, कार्तिक १२ देखि मण्डला थिएटरमा मञ्चन हुन थालेको नाटक ‘भाग भेडा भाग’ ले ठ्याक्कै त्यही असहज ठाउँमा हात राखेको छ।

कथा सरल छ। एक वडाध्यक्ष अनुगमनमा आउँदैछन्। दुईवटा भन्दा बढी भेडीगोठ सञ्चालन गर्न नपाइने व्यवस्था छ, तर एक सञ्चालकले तीनवटाको स्वीकृति लिएर अनुदान खाइसकेका छन्। अब यी गोठहरु टन्न भेडाहरुले भरिएको र सफा देखाउनु छ। यो नाटक हेरिरहँदा हाँसो उठ्छ। तर हाँसो रोकिएपछि लाग्छ, यो त हाम्रै वडा, हाम्रै कार्यालय, हाम्रै समाजको कथा हो।

सरकारी अनुदानको मूल उद्देश्य नागरिकको जीवनस्तर सुधार्नु, उत्पादन बढाउनु र आर्थिक गतिविधिलाई प्रोत्साहन गर्नु हो। तर लक्षित समुदायसम्म लाभ पुग्नुपर्ने कार्यक्रम नै स्वार्थको माध्यम बन्छ भने विकासको उद्देश्य र त्यसको कार्यान्वयनबीच गम्भीर दूरी उत्पन्न हुन्छ। हास्यको आवरणमा यो नाटकले त्यही विसङ्गति देखाउँछ।

कलाकारहरू स्वयं भेडा बनेर मञ्चमा उत्रिनु यो प्रस्तुतिको सबैभन्दा रोचक प्रयोग हो। भेडाको बिम्बले एउटै प्रश्न सोध्छ: अरूले देखाएको बाटो, अरूले बनाइदिएको धारणा र समूहको निष्ठा बोकेर हामी कहिलेसम्म हिडिरहने?

नेपाली समाजमा राजनीतिक वृत्तले निर्माण गर्ने भाष्य, आश्वासन, भय, प्रलोभन र पक्षधरता नागरिकको सोचमा कसरी प्रभाव पार्छन् भन्ने प्रश्न पनि यसै सन्दर्भमा महत्त्वपूर्ण हुन्छ। नागरिकले कुनै विषयलाई आफैँ बुझेर धारणा बनाउँछ कि अरूले बनाइदिएको धारणा बोकेर हिँड्छ? सार्वजनिक हित भन्दा समूहगत निष्ठा ठूलो हुन्छ कि विवेक? गलत काम आफ्नै पक्षबाट भएको देख्दा पनि त्यसलाई प्रश्न गर्ने साहस रहन्छ कि रहँदैन? यो नाटकले यी र येस्ता धेरै प्रश्नहरु दर्शकको मानसपटलमा जन्माउँछ।

नागरिकलाई भेडा भनेर गाली गर्नु सजिलो छ। तर प्रश्न सोध्न सक्ने वातावरण नहुनु, सूचनामा असमान पहुँच र निर्भरताले पनि मानिसलाई भेडा भएको आभास गराउँछ। असल व्यङ्ग्यले दर्शकलाई थप्पड होइन, ऐना देखाउँछ। यो नाटकले त्यो ऐनाको काम गरेको छ र नाटकमा यहीँनेर दर्शकहरुले ‘भेडा’ एउटा पशुको परिचयबाट सामाजिक र राजनीतिक रूपकमा रूपान्तरित भएको अनुभव गर्न सक्छन।

यो नाटकको अर्को आकर्षण भनेको पुस्ता विचको सहकार्य हो। नाटकका लेखक तथा निर्देशक संयोग गुरागाईं मण्डला थिएटरको दोस्रो ब्याचका विद्यार्थी हुन्, जबकि मञ्चमा बीसौँ ब्याचका कलाकारहरू छन्। अनुभव र नयाँ ऊर्जाको यस्तो भेटले प्रायः नयाँ प्रयोग जन्माउँछ। नेपाली रङ्गमञ्चलाई अघि बढाउने पनि यस्तै निरन्तरताले हो।

मञ्चमा क्रिस बम, अनिता थापा, राजेश सेनचुरी, सन्ध्या नेपाल, यश श्रेष्ठ, महेश गिरी, अङ्कित सिंह हमाल, निखिला चापागाईं, अस्मिता तामाङ, राजाराम गौतम, आकाश के.सी., अञ्जु चौलागाईं, प्रश बुढा क्षेत्री, प्रशंसा आचार्य, भुवन सिंह ठकुरी, धीरज पहराई मगर, अरमान श्रेष्ठ, आसिका के.सी., नवीन धामी र विशाल राज छन्। यी नयाँ कलाकारलाई हेर्न जानु उनीहरूको यात्रामा साथ दिनु पनि हो।

सबै प्रश्नको उत्तर दिने नाटक सायद कतै हुँदैन, र हुनु पनि हुँदैन। राम्रो नाटकले हामीलाई उत्तर होइन, प्रश्न बोकाएर घर पठाउँछ। हामी नियम पालना गर्ने संस्कार बनाउँदै छौँ कि अनुगमनबाट अनेक तिकडम लगाएर उम्कने तरिका खोज्दै छौँ? गलत आफ्नै पक्षबाट हुँदा बोल्छौँ कि चुप लाग्छौँ? परिवर्तनको जिम्मा सधैँ अरूको हो भनेर पन्छिरहेका त छैनौँ?

यो नाटक हर्दै गर्दा यी र यस्ता प्रश्नहरुको सामना थिएटरको अँध्यारोमा, हाँसोसँगै गर्न पाइन्छ तेसैले यो नाटक हेर्ने अवसर गुमाउनु हुँदैन।

“भाग भेडा भाग” आजदेखि, अर्थात् कार्तिक १२ देखि मण्डला थिएटरमा सोमबार बाहेक हरेक दिन, साँझ ५:१५ बजे नियमित रुपमा मंचन हुदैछ भने शनिबार चाहिँ थप शो पनि राखिएको छ, जुन दिउँसो १ बजे मंचन हुन्छ।

नाटकको शीर्षकले ‘भाग’ भन्छ। तर यस पटक भाग्नुको सट्टा एकछिन रोकिएर सोच्न मण्डला थिएटर जाने होकी?

प्रतिकृया दिनुहोस्