काठमाडौं|नेपाली चलचित्र ‘बाटुलो जून’ को ट्रेलर आज एक विशेष कार्यक्रमबीच सार्वजनिक गरिएको छ। ट्रेलर सार्वजनिक कार्यक्रममा चलचित्रका स्टार कलाकारहरू अनमोल केसी, प्रिन्सी खतिवडालगायत सम्पूर्ण कलाकार तथा निर्माण टिमको उपस्थिति रहेको थियो।
कार्यक्रममा प्रिन्सी खतिवडाकी दिदी प्रिज्मा खतिवडाले आफ्नी बहिनीप्रतिको प्रेम, माया र विश्वास झल्किने भावुक अभिव्यक्ति दिँदा कार्यक्रमको माहोल न्यानो र मर्मस्पर्शी बनेको थियो।
अभिनेता अनमोल केसीले कार्यक्रममा उपस्थित सबैप्रति धन्यवाद व्यक्त गर्दै आफू जन्मिनुभन्दा करिब ३०–४० वर्षअघिको गाउँले परिवेश झल्काउने चरित्रमा काम गर्ने अवसर पाउँदा निकै उत्साहित भएको बताए। फरक समय र परिवेशको पात्रलाई पर्दामा जीवन्त बनाउने अनुभव आफ्ना लागि विशेष रहेको उनको भनाइ थियो।
त्यस्तै, अभिनेत्री प्रिन्सी खतिवडाले चलचित्र निर्माणमा सम्पूर्ण टिमको मिहिनेत र सहयोग रहेको उल्लेख गर्दै सबैको सामूहिक प्रयासका कारण आफूले पनि आफ्नो भूमिका राम्रोसँग निर्वाह गर्न सकेको बताइन्।
समीप्यराज तिमिल्सिना र सरिन पोखरेलको कथामा बनेको ‘बाटुलो जून’का लेखकद्वयले पनि कार्यक्रममा आफ्नो मन्तव्य राख्दै चलचित्रको कथा र निर्माण यात्राबारे धारणा व्यक्त गरेका थिए।
कार्यक्रममा अभिनेत्री न्यान्सी खड्का भावुक देखिइन्। ट्रेलर हेर्दै गर्दा छायांकन अवधिभरका अनुभव र सम्झनाहरू आफ्नो मस्तिष्क वरिपरि घुमिरहेको महसुस भएको उनले बताइन्।
चलचित्रका निर्देशक भुवन केसीले सम्पूर्ण कलाकार तथा प्राविधिक टिमको दुःख, मिहिनेत र परिश्रमपछि आजको दिन आएको बताउँदै सबैप्रति आभार व्यक्त गरे। त्यसैगरी, निर्माता जिया केसीले चलचित्र निर्माण यात्रामा साथ र सहयोग गर्ने सम्पूर्णप्रति धन्यवाद व्यक्त गरिन्।
प्रेम, भावना र फरक समयको गाउँले परिवेशलाई समेटेर तयार पारिएको ‘बाटुलो जून’ को ट्रेलरले दर्शकमाझ उत्सुकता जगाएको छ। अब चलचित्रले पर्दामा कस्तो कथा प्रस्तुत गर्नेछ भन्ने प्रतीक्षा दर्शकमा बढेको छ।

