प्रयोगात्मक शिक्षणमा जोड दिँदै विज्ञान शिक्षक कुन्दन भाट

“म विद्यार्थीहरूलाई भन्ने गर्छु – “तपाईंहरू प्रश्न सोध्नुहोस्। कक्षामा पिन ड्रप साइलेन्स भएको मलाई मन पर्दैन।” – कुन्दन भाट, विज्ञान शिक्षक, एभरेष्ट एकेडेमी, गोदावरी नगरपालिका–१, कैलाली, नेपाल।

Byशिक्षापाटी

२०८३ कार्तिक १३, शुक्रवार

“विज्ञान शिक्षणलाई पाठ्य पुस्तकका सिद्धान्त, परिभाषा र सूत्रमा मात्र सीमित राख्नु हुँदैन। विद्यार्थीलाई प्रयोग, अवलोकन, प्रश्न र खोजमार्फत सिक्ने अवसर दिन सके विज्ञान प्रतिको रुचि र बुझाइ बढाउन सकिन्छ। यसका लागि विषयवस्तुको ज्ञानसँगै विद्यार्थीको रुचि, ध्यान र मनोवैज्ञानिक अवस्थालाई बुझ्नु पनि आवश्यक हुन्छ।“

माथिका हरफहरु कैलालीको गोदावरी नगरपालिका–१ स्थित एभरेष्ट एकेडेमीका विज्ञान शिक्षक कुन्दन भाटले shikshapati.com का सम्वाददातासंग गर्नु भएको कुराकानीको अंस हो। सन् २००५ अर्थात् वि.सं. २०६२ सालदेखि शिक्षण पेशा सुरु गरेको बताउने शिक्षक भाटले विज्ञान शिक्षणका चुनौती, प्रयोगात्मक अभ्यास, नयाँ पुस्ताका विद्यार्थीको सिकाइ शैली र कक्षा कोठामा विद्यार्थीको सहभागिता बारे आफ्ना अनुभव यो लेख मार्फत खुल्ला रुपमा साझा गरेका छन्।

विज्ञान विषयलाई प्रभावकारी बनाउन प्रयोगात्मक अभ्यास आवश्यक रहेको भाटको धारणा छ। भाटका अनुसार विज्ञान विषयलाई प्रभावकारी रूपमा पढाउन शिक्षकले कक्षा कोठामा बसेर सेतो पाटीमा लेख्दै व्याख्या गर्ने परम्परागत विधिमा मात्र निर्भर रहनु हुँदैन। विज्ञानको प्रकृति नै प्रयोग, अवलोकन र परीक्षणसँग जोडिएको हुन्छ। त्यसैले विद्यार्थीलाई प्रत्यक्ष रूपमा सहभागी गराएर सिकाउनु आवश्यक हुन्छ।

“विज्ञान विषय कक्षामा बसेर सेतो पाटीमा लेख्दै पढाउने विषय मात्र होइन। यसलाई प्रयोगशालामा विभिन्न प्रयोग गर्दै सिकाउनुपर्छ,” उनी भन्छन्।

उनका अनुसार Everest Academy मा विज्ञान विषयको प्रयोगात्मक सिकाइका लागि प्रयोगशालाको व्यवस्था छ। विषयवस्तु र एकाइ अनुसार विद्यार्थीलाई बाहिरी गतिविधिमा समेत सहभागी गराउने अभ्यास गरिएको छ। यसले विद्यार्थीलाई किताबमा पढेका कुरालाई व्यवहारमा बुझ्ने अवसर प्रदान गर्छ। उनले विधालय नजिकै रहेको उद्यानमा पनि समय समयमा  विद्यार्थीहरुलाई सिकाइ कै लागि लाने गरेको बताए।

विज्ञानका सिद्धान्तलाई वास्तविक जीवनका घटनासँग जोड्न सक्दा विद्यार्थीमा विषय प्रतिको रुचि बढ्ने र सिकाइ दिगो बन्ने उनको अनुभव छ। प्रयोगात्मक शिक्षणले विद्यार्थीलाई उत्तर कण्ठ गर्नुभन्दा त्यसको कारण खोज्न प्रेरित गर्छ।

भाटले अहिलेको पुस्ताका विद्यार्थीलाई पढाउने क्रममा देखिएको एउटा प्रमुख चुनौती उनीहरूको ध्यान केन्द्रित गराइराख्न नसक्नु भएको बताए। प्रविधिसँगै हुर्किरहेको अहिलेको पुस्ताका विद्यार्थीको सिकाइ शैली पहिलेको पुस्ताभन्दा फरक हुँदै गएको उनको अनुभव छ।

“अहिलेका विद्यार्थी प्रविधिसँगै हुर्किरहेका छन्। उनीहरूलाई लामो समयसम्म एउटै कुरामा ध्यान केन्द्रित गराएर राख्न चुनौतीपूर्ण छ। त्यसैले उनीहरूलाई पढाउन विभिन्न शिक्षण प्रविधि अपनाउनुपर्छ,” उनी भन्छन्।

उनका अनुसार शिक्षकले कुनै विषयको लामो समयसम्म निरन्तर व्याख्या गर्नु भन्दा पाठलाई स-साना खण्डमा विभाजन गरी विद्यार्थीको रुचि र क्षमताअनुसार सिकाउनु उपयुक्त हुन्छ।

“म विज्ञानको कुनै पनि पाठको दुई–चार मिनेटभन्दा लामो समयसम्म व्याख्या दिने प्रयास गर्दिनँ। आवश्यकताअनुसार बीचमा विश्राम दिन्छु र विद्यार्थीलाई सक्रिय बनाउने प्रयास गर्छु,” भाटले आफ्नो शिक्षण अभ्यासबारे बताए।

यो अभ्यासले कक्षाकोठामा विद्यार्थीको सहभागिता बढाउन र उनीहरूलाई सिकाइ प्रक्रियामा सक्रिय राख्न मद्दत गर्ने उनको विश्वास छ।

यद्यपि, सबै विद्यार्थीको ध्यान अवधि र सिक्ने तरिका एउटै हुँदैन। त्यसैले शिक्षकले विद्यार्थीको व्यक्तिगत भिन्नता बुझेर शिक्षण विधि परिवर्तन गर्न सक्नुपर्छ भन्ने कुरा आफ्नो बीस वर्षको शिक्षण अनुभवले सिकाएको उनि बताउछन।

भाटको शिक्षण दर्शनको महत्त्वपूर्ण पक्ष विद्यार्थीको मनोविज्ञान बुझ्नु हो। उनको विचारमा शिक्षण भनेको पाठ्यक्रममा राखिएका विषयवस्तु जवरजस्ती विद्यार्थीहरुमा लादेर कोर्ष पूरा गर्नु मात्र होइन। विद्यार्थीको रुचि, भावनात्मक अवस्था, सिकाइ क्षमता र जिज्ञासालाई बुझेर उनीहरूलाई सिकाइमा सहभागी गराउनु हो।

“विद्यार्थीलाई पढाउनुअघि हामीले स्वयं विद्यार्थीलाई पढ्नु पर्ने हुन्छ। उनीहरूको मनस्थिति बुझ्नु पर्ने हुन्छ। शिक्षण भनेको किताबमा भएको पाठ पढाउने कुरा मात्र होइन, विद्यार्थीको मनोवैज्ञानिक पक्ष बुझ्ने कुरा पनि हो,” उनी भन्छन्।

एउटै कक्षामा सबै विद्यार्थीले एउटै गतिमा सिक्न सक्दैनन्। कसैले छिटो बुझ्छन्, कसैलाई दोहोर्‍याएर बुझाउनुपर्छ। कोही प्रश्न गर्न सहज महसुस गर्छन् भने कोही आफूलाई नआएको कुरा सोध्न हिचकिचाउँछन्। यस्तो अवस्थामा शिक्षकले विद्यार्थीको अवस्था बुझेर उनीहरूलाई सहज वातावरण दिनुपर्ने भाटको धारणा छ।

शिक्षकले विद्यार्थीको मनोविज्ञान बुझ्न सके उनीहरूको सिकाइमा देखिने कठिनाइ पहिचान गर्न र उपयुक्त शिक्षण विधि छनोट गर्न सहज हुन्छ। यसले शिक्षक र विद्यार्थीबीच विश्वासपूर्ण सम्बन्ध निर्माण गर्न पनि सहयोग पुर्‍याउँछ – उनि भन्छन।

भाट विद्यार्थीलाई प्रश्न गर्न प्रोत्साहित गर्छन्। उनका अनुसार कक्षाकोठामा सबै विद्यार्थी हल्ला नगरी चुपचाप बस्नु मात्र राम्रो शिक्षणको संकेत होइन। विद्यार्थीले प्रश्न गर्ने, छलफल गर्ने र आफ्ना विचार राख्ने वातावरण हुनु आवश्यक छ।

“म विद्यार्थीहरूलाई भन्ने गर्छु – “तपाईंहरू प्रश्न सोध्नुहोस्। कक्षामा पिन ड्रप साइलेन्स भएको मलाई मन पर्दैन,” उनी आफ्नो अनुभव सुनाउँछन्।

उनको विचारमा विद्यार्थीले प्रश्न गर्न थालेपछि उनीहरूको जिज्ञासा र सोच्ने क्षमता विकास हुन्छ। शिक्षकले दिएको उत्तरलाई मात्र अन्तिम सत्य मान्नुको सट्टा विद्यार्थीले त्यसको कारण बुझ्ने र थप जानकारी खोज्ने अवसर पाउँछन्।

कहिलेकाहीँ शिक्षकले पनि सबै प्रश्नको उत्तर तत्काल दिन नसक्ने अवस्था हुन सक्छ। यस्तो अवस्थामा विद्यार्थीलाई थप अध्ययन र अनुसन्धान मार्फत उत्तर खोज्न प्रेरित गर्न सकिन्छ। शिक्षक र विद्यार्थीले मिलेर उत्तर खोज्ने प्रक्रियाले कक्षा कोठालाई सहभागिता मूलक सिकाइको थलो बनाउन सक्छ।

भाट अनुसार शिक्षकले आफूलाई सबै कुरा थाहा भएको व्यक्तिका रूपमा मात्र प्रस्तुत गर्नु आवश्यक छैन। विद्यार्थीलाई प्रश्न गर्ने र खोज्ने स्वतन्त्रता दिँदा उनीहरूमा शिक्षकसँग खुलेर संवाद गर्ने आत्मविश्वास बढ्न सक्छ।

विज्ञान शिक्षणको अर्को महत्त्वपूर्ण पक्ष अनुसन्धानमुखी सिकाइ हो। विद्यार्थीलाई तयारी उत्तर उपलब्ध गराउनुको सट्टा समस्या पहिचान गर्न, सम्भावित कारणबारे सोच्न, प्रमाण खोज्न र निष्कर्ष निकाल्न प्रोत्साहित गर्नुपर्छ।

भाटले पनि विद्यार्थीलाई प्रश्न गर्न र नयाँ कुरा खोज्न प्रेरित गर्ने अभ्यासमा जोड दिएको बताए। विद्यार्थीलाई आफूले नजानेको कुरा स्वीकार गर्न र थप जानकारी खोज्न सहज वातावरण दिनु शिक्षणको महत्त्वपूर्ण पक्ष हो।

विज्ञान विषयमा विद्यार्थीले आफ्नो वरपरका घटनालाई अवलोकन गर्न सक्छन्। पानी किन उम्लिन्छ, बिरुवा कसरी बढ्छ, छायाको आकार किन परिवर्तन हुन्छ वा फोहोर व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने प्रश्नबाट उनीहरूलाई सिकाइ प्रक्रियामा जोड्न सकिन्छ। उनले तेसै गर्ने गरेको बताए।

यस्ता गतिविधिमा विद्यार्थीले समूहमा काम गर्ने, आफ्ना विचार प्रस्तुत गर्ने र अरूका विचारबाट सिक्ने अवसर पाउँछन्। यसबाट वैज्ञानिक सोचसँगै सहकार्य, सञ्चार र समस्या समाधान गर्ने सीप पनि विकास हुन सक्छ।

अहिलेको डिजिटल युगमा विज्ञान शिक्षणलाई प्रविधिसँग जोड्ने गरेको पनि कुराकानीको क्रममा उनले बताए। शैक्षिक भिडियो, डिजिटल सिमुलेसन र कृत्रिम बुद्धिमत्ता (AI) जस्ता साधनले जटिल वैज्ञानिक अवधारणा बुझाउन सहयोग गरेको पनि उनले स्वीकारे। तर प्रविधिको प्रयोगलाई विद्यार्थीको सक्रिय सिकाइसँग जोड्दा भने उनीहरुको आफ्नो मौलिकता हराउने र दिमाग खियाउँन नपर्ने भएकाले अल्छीपना बढ्ने उनको भनाइ थियो।

विद्यार्थीलाई डिजिटल सामग्री र कृत्रिम बुद्धिमत्ता (AI)  प्रयोग गरेर प्रस्तुत गरेका सामग्री, अध्ययन र खोजहरुको बारे प्रश्न गर्न, आफ्ना निष्कर्ष प्रस्तुत गर्न र सम्भव भएसम्म प्रयोगमार्फत पुष्टि गर्न प्रोत्साहित गर्नुपर्नेमा उनको जोड थियो।

यसै सन्दर्भमा STEAM Education अर्थात् विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणितलाई एकीकृत गरी सिकाउने पद्धति पनि उपयोगी हुने बारे पनि उनले बताए। उदाहरणका लागि, विद्यार्थीलाई वर्षाको पानी सङ्कलन गर्ने नमुना बनाउन दिँदा उनीहरूले विज्ञानका सिद्धान्त, गणितीय हिसाब, इन्जिनियरिङको आधार र डिजाइनसम्बन्धी सीप एकै परियोजनामा प्रयोग गर्न सक्छन्।

यस्ता गतिविधिले विद्यार्थीलाई विभिन्न विषयबीचको सम्बन्ध बुझ्न र वास्तविक जीवनका समस्या समाधान गर्न प्रेरित गर्न सक्छन्। भाटले Everest Academy ले कैलाली जिल्लामै STEAM Education भित्र्याएको दाबीसमेत गरेका छन्। यस दाबीको स्वतन्त्र पुष्टि भने भएको छैन।

 

विद्यालय तहको विज्ञान शिक्षालाई प्रभावकारी बनाउन प्रयोगशाला, आवश्यक सामग्री र शिक्षकको क्षमता विकासमा ध्यान दिनु पर्ने साथै, विद्यार्थीलाई प्रश्न गर्न र प्रयोग मार्फत सिक्न प्रोत्साहित गर्ने शैक्षिक वातावरण निर्माण गर्नु आवश्यक रहेको पनि उनले औल्याए।

परीक्षामा प्राप्त अङ्कलाई मात्र सिकाइको मापदण्ड बनाउनुको सट्टा विद्यार्थीले विषयवस्तु कति बुझे, त्यसलाई कसरी प्रयोग गरे र समस्याको समाधान कसरी खोजे भन्ने पक्षलाई पनि महत्त्व दिनुपर्छ – उनले कुराकानीको क्रममा भने।

शिक्षकले पाठ्यक्रम पूरा गर्नु पर्ने जिम्मेवारीसँगै विद्यार्थीको सिकाइ आवश्यकताअनुसार शिक्षण विधि परिवर्तन गर्ने अवसर पाउनुपर्छ। विद्यालयले प्रयोगात्मक गतिविधि, अनुसन्धानमुखी परियोजना र शिक्षक बीच अनुभव आदानप्रदानलाई प्रोत्साहित गर्न सके विज्ञान शिक्षण अझ प्रभावकारी बन्न सक्ने उनको धारणा थियो।

संक्षेपमा भन्दा विज्ञान शिक्षक कुन्दन भाटसँगको कुराकानीबाट विज्ञान शिक्षणमा प्रयोगात्मक अभ्यास, विद्यार्थीको मनोविज्ञान र प्रश्न गर्न सक्ने वातावरणले कति धेरै महत्त्व राख्छ भन्ने स्पष्ट पार्छ। विज्ञानलाई सेतो पाटी र पाठ्यपुस्तकमा मात्र सीमित नराखी प्रयोग, अवलोकन र खोजसँग जोड्नुपर्ने उनको अनुभवबाट प्रष्ट हुन्छ।

त्यस्तै, विद्यार्थीलाई पढाउनुअघि उनीहरूलाई बुझ्ने, लामो व्याख्या भन्दा विविध शिक्षण विधि अपनाउने र कक्षा कोठामा विद्यार्थीको जिज्ञासालाई स्थान दिने अभ्यासले सिकाइलाई थप सहभागिता मूलक बनाउन सक्छ।

विज्ञान शिक्षाको उद्देश्य विद्यार्थीलाई तथ्य र सूत्र कण्ठ गराउनु मात्र होइन, उनीहरूलाई प्रश्न गर्न, प्रमाण खोज्न, तर्क गर्न र नयाँ कुरा पत्ता लगाउन सक्षम बनाउनु पनि हो। यसका लागि शिक्षक, विद्यालय र शैक्षिक प्रणालीले प्रयोगात्मक तथा विद्यार्थीकेन्द्रित शिक्षणलाई प्राथमिकता दिन आवश्यक छ।

एभरेष्ट एकेडेमी, गोदावरी नगरपालिका–१, कैलालीका विज्ञान शिक्षक, कुन्दन भाटसँगको कुराकानीमा आधारित लेख

प्रतिकृया दिनुहोस्