पुरुषको प्रशंसा, महिलाको पीडा!

सम्बन्ध टुटेपछि पुरुषको भावुकता देख्ने समाजले महिलाको मौन संघर्ष किन देख्दैन?

Byशिक्षापाटी

२०८३ कार्तिक १७, मंगलवार

हाम्रो समाजमा एउटा अनौठो प्रवृत्ति छ। पुरुषले वर्षौँसम्म मौन राखेका कुरा एक दिन सार्वजनिक रूपमा व्यक्त गर्‍यो भने त्यसलाई उसको संवेदनशीलता, महानता र भावनात्मक परिपक्वताको प्रमाण मानिन्छ। तर त्यही सम्बन्धभित्र वर्षौँसम्म अपमान, उपेक्षा, संघर्ष र पीडा सहेर बाँचेकी महिलाले आफ्नो अनुभव सुनाउँदा उसलाई अनेक प्रश्नको कठघरामा उभ्याइन्छ।

पुरुषको पश्चात्तापलाई उदारतापूर्वक स्वीकार गर्ने समाज महिलाको पीडाप्रति किन यति अनुदार छ?

भुवन केसीले हालै आफ्नो पूर्व वैवाहिक सम्बन्धका सन्दर्भमा व्यक्त गरेका केही सकारात्मक शब्दपछि देखिएको सामाजिक प्रतिक्रियाले यही प्रश्नलाई फेरि सतहमा ल्याएको छ। कुनै व्यक्तिले आफ्नो विगत प्रति आत्ममन्थन गर्नु, कसैको योगदान स्वीकार गर्नु वा विगतका कमजोरीप्रति पश्चात्ताप व्यक्त गर्नु सकारात्मक पक्ष हो। तर केही मीठा शब्दलाई आधार बनाएर कसैको सम्पूर्ण विगतको मूल्याङ्कन गरिदिनु र अर्को पक्षले भोगेको जीवनलाई बेवास्ता गर्नु न्यायोचित हुँदैन।

“सम्बन्धको इतिहास एउटा व्यक्तिको अभिव्यक्तिले मात्र लेखिँदैन। त्यसमा दुईवटा जीवन, दुईवटा अनुभव र अनेकौँ नपोखिएका पीडाहरू जोडिएका हुन्छन्।”

हामीले अक्सर सम्बन्ध टुटेको देख्छौँ, तर सम्बन्ध टुट्नुअघि को कति पटक भित्रभित्रै टुट्यो भन्ने देख्दैनौँ। एउटी महिलाले सम्बन्धबाट बाहिरिने निर्णय लिनुअघि कति पटक आफूलाई सम्झाइन् होला? कति पटक आफ्ना आवश्यकता दबाइन् होला? कति पटक परिवार, सन्तान, सामाजिक प्रतिष्ठा र भविष्यको चिन्ता गर्दै आफ्नै पीडासँग सम्झौता गरिन् होला?

महिलाहरू प्रायः सम्बन्ध जोगाउने नाममा आफूलाई नै गुमाउँदै जान्छन्। उनीहरूका लागि सम्बन्ध केवल दुई व्यक्ति बीचको आकर्षण हुँदैन; त्यसमा परिवार, सामाजिक पहिचान, भावनात्मक लगानी, सन्तानको भविष्य र जीवनभर देखेका सपनाहरू जोडिएका हुन्छन्। त्यसैले सम्बन्धबाट बाहिरिने निर्णय धेरैका लागि स्वतन्त्रताको सहज घोषणा नभई लामो संघर्षपछि लिइएको कठिन निर्णय हुन्छ।

विडम्बना के छ भने, सम्बन्धभित्र हुँदा महिलाले गरेको त्यागलाई स्वाभाविक जिम्मेवारी मानिन्छ, तर सम्बन्धबाट बाहिरिएपछि उसले गरेको निर्णयलाई स्वार्थ, अहंकार वा असफलताको संज्ञा दिइन्छ।

यही सामाजिक मनोविज्ञानले महिलालाई पीडा सहन सिकाउँछ, प्रश्न नगर्ने बनाउँछ र आफ्नो अस्तित्व भन्दा सम्बन्धलाई ठूलो मान्न बाध्य बनाउँछ।

अर्कोतर्फ, केही पुरुषहरू सम्बन्धमा आफ्नो भूमिका र जिम्मेवारीको समीक्षा गर्नुभन्दा सार्वजनिक छवि जोगाउन बढी सक्रिय देखिन्छन्। उनीहरूका अभिव्यक्ति, भावुकता र पश्चात्तापले समाजको सहानुभूति सहजै प्राप्त गर्छन्। तर सहानुभूति र जवाफदेहिताबीच ठूलो अन्तर छ। भावुक हुनु राम्रो हो, तर भावनात्मक अभिव्यक्तिले विगतका जिम्मेवारीबाट उन्मुक्ति दिँदैन।

यसको अर्थ सबै पुरुष उस्तै छन् भन्ने होइन। प्रेम गर्ने, सम्मान गर्ने, जिम्मेवारी वहन गर्ने र महिलाको स्वतन्त्र अस्तित्व स्वीकार गर्ने असंख्य पुरुषहरू छन्। तर राम्रा उदाहरणहरूको अस्तित्वले खराब व्यवहारलाई सामान्यीकरण गर्ने छुट दिन सक्दैन।

मलाई सबैभन्दा बढी चिन्ता लाग्ने विषय भनेको समाजले पुरुषको भावनालाई मानवीय संवेदनाका रूपमा स्वीकार गर्दा महिलाको भावनालाई किन बारम्बार कमजोरपनका रूपमा व्याख्या गर्छ भन्ने हो। पुरुष रोयो भने उसको मन दुखेको हुन्छ, महिला रोईन् भने ऊ भावुक हुन्छे। पुरुषले आफ्नो पक्ष राख्यो भने ऊ साहसी हुन्छ, महिलाले आफ्नो पीडा सुनाईन् भने उसले पुरानो कुरा कोट्याइरहेकी छे भनिन्छ।

यो केवल दृष्टिकोणको समस्या होइन, यो हाम्रो सामाजिक चेतनाभित्र गहिरोसँग जरा गाडेको लैङ्गिक असमानता हो।

वैवाहिक सम्बन्धमा सबैभन्दा संवेदनशील पक्ष सन्तान हो। आमा र बाबुको सम्बन्धमा आएको चिसोपनको असर सन्तानको भावनात्मक विकाससम्म पुग्न सक्छ। यस्तो अवस्थामा सन्तानको सर्वोत्तम हित, सुरक्षा र भावनात्मक आवश्यकतालाई प्राथमिकता दिनु अनिवार्य हुन्छ।

तर सन्तानको जीवनमा आमाको भूमिका र आमाको भावनात्मक संसारलाई पनि उत्तिकै सम्मान गर्नुपर्छ।

सन्तानसँग बस्न नपाउने वा सन्तानबाट टाढिनुपर्ने अवस्थाको पीडा कुनै एउटा सार्वजनिक वक्तव्यले व्याख्या गर्न सक्दैन। छोराले बाबुसँग बस्ने निर्णय गरेपछि रित्तो काख लिएर आफ्नो बाटो लाग्नुपरेकी एउटी आमाको मनभित्र कस्तो आँधी चलेको थियो होला? मातृत्वको अनुभूति, सन्तानसँग बिताएका वर्षहरू र अचानक सिर्जना भएको दूरीले उनको जीवनमा कस्तो खालीपन छोड्यो होला?

यी प्रश्नहरू कसैलाई दोषी ठहर गर्न होइनन्। यी प्रश्नहरू एउटी आमाको अनुभवलाई पनि सामाजिक बहसको केन्द्रमा ल्याउन हुन्।

भुवन केसीले आफ्ना अभिव्यक्ति मार्फत विगतप्रति केही स्वीकारोक्ति गरेका हुन सक्छन्। त्यसलाई सम्मान गर्न सकिन्छ। तर त्यसैका आधारमा उनलाई महान् पिता वा महान् व्यक्ति घोषणा गर्दै गर्दा सुस्मिता केसीले भोगेको जीवन, उनको मातृत्व र उनको व्यक्तिगत संघर्षलाई पनि बिर्सन मिल्दैन।

कसैको प्रशंसा गर्न अर्को व्यक्तिको पीडा अदृश्य बनाउनु आवश्यक छैन।

हामीले सम्बन्धलाई प्रेमको दृष्टिले मात्र होइन, शक्ति र नियन्त्रणको दृष्टिले पनि बुझ्नुपर्छ। प्रेमको नाममा गरिने निगरानी, अपमान, धम्की, भावनात्मक ब्ल्याकमेल, चरित्रमाथिको आक्रमण र हिंसा कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन।

कहिलेकाहीँ सम्बन्धमा नियन्त्रण गुमाउने डरले व्यक्तिहरूले अस्वस्थ व्यवहार देखाउँछन्। कतिपय अवस्थामा हिंसालाई प्रेम, अधिकार वा भावनात्मक असुरक्षाको नाम दिइन्छ। अझ गम्भीर कुरा त के छ भने, हिंसापछि आफूलाई पीडित देखाउने प्रवृत्तिले वास्तविक पीडितको आवाज कमजोर पार्न सक्छ।

ममता काफ्लेसँग सम्बन्धित घटनाले पनि घरेलु सम्बन्ध, महिला सुरक्षा, हिंसा र सामाजिक संवेदनशीलताबारे हामीलाई गम्भीर भएर सोच्न बाध्य बनाएको छ। कुनै पनि घटनामा निष्कर्ष निकाल्दा प्रमाण र कानुनी प्रक्रियालाई सम्मान गर्नुपर्छ। तर महिलाको सुरक्षा र हिंसाविरुद्धको सामाजिक चेतनालाई भने कुनै पनि बहानामा कमजोर पार्नु हुँदैन।

प्रेम गर्नु र प्रेम पाउनु एउटै कुरा होइन रहेछ। कसैलाई आफ्नो सम्पूर्ण संसार ठान्दैमा उसले पनि तपाईंको अस्तित्वलाई उत्तिकै महत्त्व दिन्छ भन्ने ग्यारेन्टी हुँदैन रहेछ।

कहिलेकाहीँ प्रेमको नाममा मानिसले आफ्नो आत्मसम्मान, स्वतन्त्रता र पहिचानसमेत गुमाउनुपर्ने अवस्था आउँदो रहेछ। त्यस्तो अवस्थाबाट बाहिरिनु कमजोरी होइन, आफैँलाई पुनः प्राप्त गर्ने साहस हो।

हामीले पुरुषलाई घृणा गर्नुपर्ने समाज होइन, पुरुष र महिलालाई समान मानवीय सम्मान दिन सक्ने समाज निर्माण गर्नुपर्छ। पुरुषको पीडालाई पनि सुनिनुपर्छ, महिलाको पीडालाई पनि। पुरुषको आत्मसम्मानको रक्षा हुनुपर्छ, महिलाको आत्मसम्मानको पनि।

तर समानताको अर्थ महिलाले विगतमा भोगेका असमानता र हिंसालाई बिर्सनु होइन। समानताको अर्थ दुवै पक्षका अनुभवलाई समान गम्भीरताका साथ सुन्नु हो।

कसैले सार्वजनिक रूपमा बोलेका केही शब्दका आधारमा उसको सम्पूर्ण चरित्रको फैसला नगरौँ। न त कसैको मौनतालाई उसको सहमति ठानौँ। सम्बन्धमा को महान् र को खराब भन्ने प्रतिस्पर्धाभन्दा पनि कसले कस्तो जिम्मेवारी निर्वाह गर्‍यो, कसको अधिकार कुण्ठित भयो र कसले कस्तो पीडा भोग्यो भन्ने प्रश्न महत्त्वपूर्ण हुन्छ।

सम्बन्धविच्छेदलाई महिलाको असफलता नमानौँ। एक्लै जीवन अघि बढाउने महिलालाई अपूर्ण नठानौँ। सन्तानसँग टाढिनुपरेकी आमाको मातृत्वमाथि प्रश्न नगरौँ। र कसैले वर्षौँपछि व्यक्त गरेको पश्चात्तापलाई अर्को व्यक्तिको जीवनभरको पीडाभन्दा ठूलो नबनाऔँ।

  ” समाजको पहिचान कसले कति राम्रो बोल्न सक्छ भन्नेमा होइन, जसको आवाज कमजोर छ, उसको पीडा कति इमानदारीपूर्वक सुन्न सक्छ भन्नेमा हुनुपर्छ।”

अन्ततः, हामीले सम्झनुपर्ने कुरा एउटै छ कि कुनै पनि सम्बन्धमा पुरुषको योगदानको चर्चा गर्दा महिलाको त्याग मेटिनु हुँदैन। कुनै बाबुको प्रशंसा गर्दा आमाको अस्तित्व ओझेलमा पर्नु हुँदैन। र कुनै व्यक्तिको पश्चात्तापलाई सम्मान गर्दा अर्को व्यक्तिले भोगेको पीडाको अवमूल्यन गर्नु हुँदैन।

किनकि न्याय भनेको कसैलाई महान् घोषणा गर्नु होइन, सबैको सत्यलाई सुन्न सक्ने साहस राख्नु हो।

(लेखक काठमाडौंको एक प्रतिष्ठित संस्थामा “स्पेशल चाइल्ड एजुकेटर” को रुपमा कार्यरत हुनुहुन्छ।)

प्रतिकृया दिनुहोस्