समाजमा पछिल्लो समय बलात्कार, यौन हिंसा, दुर्व्यवहार र महिलामाथि हुने विभिन्न प्रकारका हिंसाका घटना बारम्बार सार्वजनिक भइरहेका छन्। यस्ता घटना सुन्दा मन आक्रोशित हुन्छ, पीडितप्रति सहानुभूति जाग्छ र दोषीलाई कडा सजाय हुनुपर्छ भन्ने आवाज उठ्छ। तर हरेकपटक घटना घटिसकेपछि दोषी खोज्ने, कानुनलाई मात्र दोष दिने वा सुरक्षा व्यवस्था बलियो बनाउने काम गरेर मात्र के हामी समस्याको जरासम्म पुग्न सक्छौं ? सायद अब हामीले एउटा जटिल तर उत्तिकै महत्त्वपूर्ण प्रश्न सोध्नुपर्ने बेला आएको छ – हामीले आफ्ना छोराहरूलाई वास्तवमा के सिकाइरहेका छौं ?- छोरी जन्मिएपछि हामी उनलाई थुप्रै कुरा सिकाउँछौं अपरिचित मानिससँग सावधान हुन, राति एक्लै नहिँड्न, कसैले नराम्रो व्यवहार गरे प्रतिरोध गर्न, आफ्नो शरीरको सुरक्षा गर्न, कसैलाई विश्वास गर्दा सतर्क हुन, मोबाइल र सामाजिक सञ्जाल चलाउँदा ध्यान दिन। छोरीलाई सुरक्षाका अनेक पाठ सिकाइन्छन्। तर त्यही घरमा हुर्किरहेको छोरालाई हामीले कतिपटक भनेका छौं – “कुनै पनि केटीको शरीरमाथि तिम्रो अधिकार छैन “कतिपटक सिकाएका छौं – “कसैले ‘होइन’ भन्यो भने त्यो ‘होइन’ नै हो” कतिपटक बुझाएका छौं – “केटीले छोटो लुगा लगाएकी होस्, राति बाहिर निस्किएकी होस् वा कसैसँग प्रेम सम्बन्धमा भए पनि उसमाथि कुनै किसिमको दुर्व्यवहार गर्ने अधिकार कसैलाई हुँदैन” र सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको कतिपटक हामीले छोरालाई भनेका छौ “महिलाको सुरक्षा प्रहरी, राज्य वा महिलाको मात्र जिम्मेवारी होइन, पुरुषको पनि उत्तिकै नैतिक जिम्मेवारी हो। यी प्रश्नको सुरुवात घरभित्रैबाट हुनुपर्छ। छोरीलाई मात्र सावधान बनाएर समाज सुरक्षित हुँदैन।
हाम्रो समाजमा एउटा गहिरो विरोधाभास देखिन्छ। छोरीलाई “सावधान भएर हिँड” भनिन्छ, तर छोरालाई “अरूको सम्मान गर” भन्ने शिक्षा त्यत्तिकै गहिराइका साथ दिइँदैन। छोरीलाई राति बाहिर नहिँड्न भनिन्छ, तर राति बाहिर भेटिने महिलासँग सम्मानपूर्वक व्यवहार गर्न छोरालाई सिकाइँदैन। छोरीलाई अपरिचित पुरुषबाट टाढा रहन भनिन्छ, तर कुनै पनि व्यक्तिको व्यक्तिगत सीमा र सहमतिको सम्मान गर्नुपर्छ भनेर छोरालाई पर्याप्त सिकाइँदैन। छोरीलाई आफ्नो शरीर जोगाउन भनिन्छ, तर अर्काको शरीर उसैको निजी अधिकार हो भन्ने कुरा छोरालाई बुझाइँदैन। यहींनेर हाम्रो अभिभावकीय शिक्षामा ठूलो प्रश्न खडा हुन्छ। छोरीलाई सुरक्षा सिकाउनु आवश्यक छ, तर त्यसैलाई पर्याप्त ठान्नु गलत हो। समाजमा हिंसा घटाउने दीर्घकालीन उपाय भनेको छोरीलाई मात्र “कसरी बच्ने,” सिकाउनु होइन, छोरालाई पनि कसैलाई हानि नगर्ने, सम्मान गर्ने र गलत देख्दा रोक्ने” संस्कार दिनु पनि हो।
किशोरावस्था व्यक्तित्व निर्माण हुने अत्यन्त संवेदनशील चरण हो। यस उमेरमा बालबालिकाले परिवारसँगै साथीभाइ, विद्यालय, सामाजिक सञ्जाल, चलचित्र, संगीत, इन्टरनेट र वरपरको समाजबाट सम्बन्ध र लैंगिक व्यवहारबारे धारणा बनाउँदै जान्छन्। त्यसैले “छोरा हो, आफैं बुझ्छ” भनेर छोडिदिनु उचित होइन।
छोराले यौनिकता, आकर्षण, प्रेम, सम्बन्ध र शारीरिक परिवर्तनबारे प्रश्न गर्नु स्वाभाविकै हो। तर त्यस्ता प्रश्नको उत्तर उसले अश्लील सामग्री, भ्रामक सामाजिक सञ्जाल वा साथीहरूको अधुरो ज्ञानबाट पाउनुपर्ने अवस्था झनै जोखिमपूर्ण हुन सक्छ। अभिभावकले उमेरअनुसार, सहज र वैज्ञानिक ढंगले शरीर, व्यक्तिगत सीमा, सहमति, सम्मान र जिम्मेवारीबारे कुरा गर्नुपर्छ।
छोरालाई भन्नुपर्छ:
“तिमी पुरुष हुँदैमा शक्तिशाली ठान्न त सक्छौ, तर त्यो शक्तिले अरूलाई नियन्त्रण गर्ने अधिकार दिँदैन।”
“आकर्षण स्वाभाविक हो, तर आकर्षणका कारण कसैको इच्छा र सीमा उल्लंघन गर्न पाइँदैन।”
“प्रेम अधिकार मात्र होइन, प्रेममा सम्मान, विश्वास, स्वतन्त्रता र सहमति पनिसंगै हुन्छ।”
होइन र नाइँ वा अस्वीकारलाई बुझ्ने संस्कार
यौन हिंसा रोकथामको आधारभूत शिक्षामध्ये एक हो – सहमति।
सहमति भनेको के हो भनेर किशोर छोरालाई स्पष्टसँग बुझाउनुपर्छ। कसैसँग कुरा गर्नु, साथी बन्नु, प्रेम सम्बन्धमा हुनु वा पहिले कुनै कुरामा सहमत हुनुको अर्थ अरू सबै कुरामा पनि सहमति भइहाल्यो भन्ने होइन। कुनै व्यक्ति असहज भएर, पछि हट्यो, मौन बस्यो वा स्पष्ट अस्वीकार गर्यो भने त्यसलाई सम्मान गर्नैपर्छ। “उसले सुरुमा त मानेकी थिई”, “उसले मसँग कुरा गर्थी”, “हामीहरु प्रेममा थियौ”, “उसैले भेट्न बोलाएकी थिई” – यीमध्ये कुनै पनि तर्क जबर्जस्ती वा हिंसाको औचित्य बन्न सक्दैन। यो कुरा छोराको मनमा सानैदेखि प्रगाढ रुपमा बसालिदिनु पर्छ।
महिलाको सुरक्षाको जिम्मेवारी हरेक पुरुषको पनि हो। “छोरीलाई जोगाउनुपर्छ” भन्ने सोचलाई विस्तार गरेर “महिलालाई सम्मान गर्ने समाज बनाउनुपर्छ” भन्ने सोचसम्म लैजानु आवश्यक छ। छोराले बाटोमा कुनै साथीले केटीलाई जिस्क्याइरहेको देख्यो भने हाँसेर साथ दिने होइन “यस्तो काम नगर” भनेर, रोक्न सक्नुपर्छ। सामाजिक सञ्जालमा कसैको निजी फोटो वा भिडियो अनुमतिबिना फैलिएको छ भने मनोरञ्जनका रूपमा हेर्ने होइन, त्यसलाई गलत ठानेर तुरुन्त रोक्न सक्नुपर्छ।
साथीहरूले महिलाबारे अपमानजनक, अश्लील वा हिंसात्मक ठट्टा गर्दा मौन बसेर समर्थन गर्ने होइन, त्यसलाई चुनौती दिन सक्नुपर्छ।
यही नै वास्तविक पुरुषत्व हो। अरूलाई डर देखाउनु पुरुषत्व होइन, आफ्नो शक्ति र भावना नियन्त्रण गर्न सक्नु पुरुषत्व हो। महिलामाथि अधिकार जमाउनु पुरुषत्व होइन, उनको स्वतन्त्रता र सम्मानको रक्षा गर्नु पुरुषत्व हो। गलत काममा साथीलाई साथ दिनु पुरुषत्व होइन, गलत काम रोक्न सक्नु पुरुषत्व हो।
छोरालाई असल नागरिक बनाउने शिक्षा एक दिनको भाषणले सम्भव हुँदैन। यो दैनिक व्यवहारबाट बिस्तारै निर्माण हुन्छ। घरमा आमाबुबाले एकअर्कासँग कसरी व्यवहार गर्छन्, त्यसैले छोराको सम्बन्ध सम्बन्धी धारणा बनाउँछ। घरमा महिलाको विचारलाई सम्मान गरिन्छ कि बेवास्ता, घरको काम महिलाको मात्र जिम्मेवारी ठानिन्छ कि सबै सदस्यको, छोरालाई काम गर्न सिकाइन्छ कि “तिमी त छोरा हौ” भनेर उन्मुक्ति दिइन्छ, घरमै छोरालाई सबै सुख सुविधा तर छोरीलाई सबै घरेलु कामका जिम्मेवारी दिइन्छ भने हामीले नजानिँदो तरिकाले असमानताको संस्कार सिकाइरहेका हुन्छौं। छोराले घरको काम गर्नुपर्छ, बहिनीलाई सम्मान गर्नुपर्छ, आमाको श्रमलाई मूल्य दिनुपर्छ। महिला र पुरुष समान हुन् भन्ने कुरा उसले व्यवहारबाटै सिक्नुपर्छ।
हामी छोरालाई सानैदेखि “केटा मान्छे रुँदैन”, “बलियो बन”, दुःख देखाउनु हुँदैन” भन्दै भावना दबाउन सिकाउँछौं। तर भावना दबाउनु र भावना व्यवस्थापन गर्नु फरक कुरा हो। रिस उठ्दा कसरी नियन्त्रण गर्ने, अस्वीकृति कसरी स्वीकार्ने, सम्बन्ध टुट्दा आफूलाई कसरी सम्हाल्ने, ईर्ष्या कसरी स्वस्थ तरिकाले व्यवस्थापन गर्ने र असफलतापछि कसरी फेरि उठ्ने भन्ने कुरा छोरालाई सिकाउनुपर्छ। किनभने भावना नियन्त्रण गर्न नसक्ने व्यक्तिले कहिलेकाहीं आफ्नो रिस, ईर्ष्या वा अस्वीकृतिलाई अरू माथि हिंसाका रूपमा पोख्न सक्छ।
त्यसैले छोरालाई भावनात्मक शिक्षा दिनु पनि हिंसा रोकथामकै एउटा महत्त्वपूर्ण उपाय हो।
सामाजिक सञ्जाल र अश्लील सामग्रीको प्रभाव
आजका किशोर इन्टरनेटको संसारमै हुर्किरहेका छन्। प्रेम, सम्बन्ध र यौन व्यवहारबारे थुप्रै सामग्री उनीहरूले केही सेकेन्डमै देख्न सक्छन्।
तर इन्टरनेटमा देखिने सबै कुरा वास्तविक जीवनको स्वस्थ सम्बन्धको उदाहरण होइन। अभिभावकले छोरालाई डिजिटल सचेतना सिकाउनुपर्छ – कसैको निजी तस्बिर सुरक्षित राख्ने, अनुमतिबिना फोटो वा भिडियो नाखिच्ने र शेयर नगर्ने,, कसैलाई धम्की नदिने, साइबर दुर्व्यवहार नगर्ने र अरूको गोपनीयताको सम्मान गर्ने संस्कार आवश्यक छ। विशेष गरी कसैको निजी सामग्री हातमा परेपछि “साथीहरूलाई देखाएर रमाइलो गर्ने” व्यवहार सामान्य होइन, त्यो अर्को व्यक्तिको मर्यादा र अधिकारमाथिको गम्भीर उल्लंघन हो भन्ने कुरा किशोरले बुझ्नैपर्छ।
यो शिक्षा घरको मात्र जिम्मेवारी होइन। विद्यालयले पनि किशोर-किशोरीलाई उमेरअनुकूल जीवनोपयोगी शिक्षा दिनुपर्छ।
विद्यालयमा लैंगिक सम्मान, सहमति, व्यक्तिगत सीमा, साइबर सुरक्षा, स्वस्थ सम्बन्ध, भावनात्मक व्यवस्थापन र हिंसा रोकथामबारे खुला संवाद हुनुपर्छ। शिक्षकले विद्यार्थीलाई केवल परीक्षा पास गर्ने ज्ञान मात्र होइन, असल मानिस बन्ने ज्ञान पनि दिनुपर्छ। दोषीलाई सजाय आवश्यक छ, तर त्यतिमात्रैले समाधान हुँदैन। बलात्कार वा यौन हिंसा जस्ता अपराधमा कानुनी कारबाही अपरिहार्य छ। पीडितलाई न्याय र सुरक्षा दिनु राज्यको अनिवार्य दायित्व हो। तर अपराध भइसकेपछि सजाय दिनु प्रतिक्रियात्मक उपाय मात्र हो। दीर्घकालीन समाधानका लागि अपराध हुनुअघि नै संस्कार निर्माण गर्नुपर्छ। अब हरेक घर घरमा यो प्रश्न सोधिनु पर्छ – “हामी आफ्ना छोरीलाई मात्र ‘कसरी सुरक्षित हुने भनेर सिकाइरहेका छौं, तर के आफ्ना छोरालाई पनि ‘कसरी सुरक्षित समाज निर्माण गर्ने’ भनेर सिकाइरहेका छौं त ॽ यो प्रश्नले प्रत्येक अभिभावकलाई केही क्षण सोच्न बाध्य बनायो भने पनि त्यो सामाजिक परिवर्तनको एउटा महत्त्वपूर्ण सुरुवात हुनेछ।
अन्त्यमा
छोरीलाई बलियो बनाउनु आवश्यक छ। उनलाई आफ्नो अधिकारप्रति सचेत बनाउनुपर्छ, आफूलाई सुरक्षित राख्ने सीप दिनुपर्छ। तर छोरीलाई मात्र सुरक्षा सिकाएर समाज सुरक्षित हुँदैन। छोरालाई पनि उत्तिकै गम्भीरताका साथ हुर्काउनुपर्छ। उनीहरूलाई सिकाउनुपर्छ – महिला कुनै वस्तु होइनन्। प्रेम स्वामित्व होइन। आकर्षण अधिकार होइन। मौनता सहमति होइन। सम्बन्धमा जबर्जस्तीको कुनै स्थान हुँदैन। हरेको आफ्नो शरीरमाथि आफ्नै अधिकार हुन्छ र कसैलाई असुरक्षित महसुस गराउनु पनि एउटा गम्भीर सामाजिक गल्ती हो। छोरालाई यस्तो बनाउनु आवश्यक छ, जसको उपस्थितिमा छोरीले डराउनु नपरोस्, बरु सुरक्षित महसुस गरोस्। यस्तो पुस्ता निर्माण गर्नुपर्छ, जहाँ छोराले आफ्नो साथीले महिलालाई अपमान गर्दा हाँस्नुको सट्टा यो गलत हो” भन्न सकोस्। जहाँ पुरुष हुनुको अर्थ प्रभुत्व जमाउनु होइन, जिम्मेवारी लिनु हो भन्ने कुरा स्थापित होस्। जहाँ छोरीलाई मात्र “सावधान रहनू” भनिँदैन, छोरालाई पनि “तिमी अरूको सुरक्षाको सम्मान गर्ने मानिस बन” भनिन्छ।
किनकि सुरक्षित समाज बनाउन छोरीलाई मात्र बदल्न खोजेर पुग्दैन। छोरालाई पनि सही ढंगले हुर्काउनैपर्छ। आज हामीले आफ्ना छोरालाई दिएको संस्कार नै भोलिको समाजमा उनीहरूले देखाउने व्यवहार बन्नेछ। त्यसैले प्रत्येक अभिभावकले आजैदेखि आफैंलाई सोधौं -“मैले मेरो छोरालाई सफल मानिस बन्न त धेरै कुरा सिकाएँ, तर असल र जिम्मेवार मानिस बन्न कति कुरा सिकाएँ ॽ यही प्रश्नको इमानदार उत्तरबाट सम्भवतः सुरक्षित, सभ्य र सम्मानपूर्ण समाज निर्माणको यात्रा सुरु हुनेछ।

