विपद् व्यवस्थापनमा मानसिक स्वास्थ्यको महत्व

पुनर्निर्माण भन्नाले केवल घर, सडक र पुल निर्माण गर्नु मात्र होइन, मानिसको आत्मविश्वास, सामाजिक सम्बन्ध, भविष्य प्रतिको आशा र राज्य प्रतिको भरोसा पनि पुनर्निर्माण गर्नु हो।

Byशिक्षापाटी

२०८३ भाद्र १७, बुधवार

 

लेखक: जमुना शर्मा “विदुषी”

प्राकृतिक प्रकोपपछि पीडितलाई तत्काल राहत सामग्री उपलब्ध गराउनु अत्यन्तै आवश्यक मानिन्छ। बाढी, पहिरो, भूकम्प, आगलागी, हुरीबतास वा अन्य विपद्का कारण मानिसले आफ्नो घर, सम्पत्ति, रोजगारी तथा कतिपय अवस्थामा आफन्त समेत गुमाउन सक्छन्। यस्तो अवस्थामा खाना, पानी, कपडा, औषधि, अस्थायी आवासलगायतका आधारभूत आवश्यकताको तत्काल व्यवस्था गर्नु राज्य, स्थानीय तह तथा विभिन्न संघसंस्थाको प्रमुख दायित्व हो। तर विपद्का बेला मानिसले भोग्ने पीडा भौतिक अभावमा मात्र सीमित हुँदैन। आँखैअगाडि घरबास उजाडिनु, आफन्त गुमाउनु, भविष्यप्रति अनिश्चितता बढ्नु र आफूले वर्षौं लगाएर बनाएको जीवन एकैछिनमा तहसनहस भएको देख्नुले व्यक्तिको मानसिक स्वास्थ्यमा गहिरो असर पार्न सक्छ। त्यसैले राहत सामग्रीसँगै मनोसामाजिक परामर्शलाई पनि विपद् व्यवस्थापनको अभिन्न हिस्सा बनाउनु आजको आवश्यकता हो।

प्राकृतिक प्रकोपको समयमा मानिसमा डर, त्रास, बेचैनी, तनाव, निराशा, असुरक्षाको भावना र भविष्यप्रतिको चिन्ता उत्पन्न हुनु स्वाभाविक हो। कतिपय व्यक्तिले घटनालाई पटक–पटक सम्झिरहने, निद्रा नलाग्ने, सामान्य कुरामा पनि डराउने, एक्लै बस्न नचाहने वा अरूसँग घुलमिल हुन कठिन महसुस गर्ने अवस्था सामना गर्न सक्छन्। विशेषगरी बालबालिका, किशोरकिशोरी, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला तथा आफ्नो परिवारका सदस्य गुमाएका व्यक्तिहरू मानसिक रूपमा अझ बढी प्रभावित हुन सक्छन्। बाहिरबाट हेर्दा उनीहरू सामान्य देखिए पनि भित्रभित्रै गहिरो मानसिक पीडा बोकेर बसेका हुन सक्छन्। यस्तो पीडालाई केवल समयसँगै आफैं ठीक हुन्छ भनेर बेवास्ता गर्नु उचित हुँदैन।

राहत सामग्रीले मानिसको तत्कालीन भौतिक आवश्यकता पूरा गर्छ भने मनोसामाजिक सहयोगले उसलाई कठिन परिस्थितिबाट पुनः उठ्ने मानसिक शक्ति प्रदान गर्छ। भोक लागेको व्यक्तिलाई खाना आवश्यक भएझैं गहिरो मानसिक पीडामा रहेको व्यक्तिलाई सुरक्षित वातावरण, सहानुभूतिपूर्ण व्यवहार, आफ्ना कुरा व्यक्त गर्ने अवसर र आवश्यक परेमा विज्ञको सहयोग आवश्यक हुन्छ। पीडितको कुरा धैर्यपूर्वक सुन्ने, उसको भावनालाई सम्मान गर्ने, अनावश्यक दबाब नदिने र उसलाई आफू एक्लो नभएको अनुभूति गराउने सामान्य व्यवहारले पनि ठूलो मनोवैज्ञानिक सहयोग पुर्‍याउन सक्छ।

विपद्पछि राहत वितरणलाई केवल खाद्यान्न, लत्ताकपडा, औषधि र आर्थिक सहयोग जस्ता भौतिक कुरामा सीमित राख्दा पुनःस्थापनाको प्रक्रिया अधुरो रहन सक्छ। मानिसको घर पुनर्निर्माण गर्न सकिएला, भौतिक क्षतिको क्षतिपूर्ति दिन सकिएला, तर मनमा परेको चोट निको पार्न छुट्टै प्रयास आवश्यक हुन्छ। आफ्नो प्रियजन गुमाएको व्यक्तिका लागि आर्थिक सहयोगले जीवनयापन सहज बनाउन सक्छ, तर उसले भोगिरहेको शोक, एक्लोपन र भावनात्मक पीडाको समाधान मात्र आर्थिक सहयोगबाट सम्भव हुँदैन। त्यसैले राहतदेखि पुनःस्थापनासम्मका हरेक चरणमा मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखिनुपर्छ।

विपद्का बेला मनोसामाजिक परामर्श उपलब्ध गराउनुको अर्को महत्वपूर्ण पक्ष भनेको पीडितलाई सामान्य जीवनतर्फ फर्किन सहयोग गर्नु हो। परामर्शदाताले व्यक्तिको समस्या सुनेर उसको अवस्थाअनुसार आवश्यक सहयोग, मनोसामाजिक परामर्श वा थप मानसिक स्वास्थ्य सेवातर्फ सिफारिस गर्न सक्छन्। यसले गम्भीर मानसिक समस्या विकसित हुनुअघि नै पहिचान र व्यवस्थापन गर्न मद्दत पुर्‍याउँछ। सबै पीडितलाई मनोचिकित्सकको उपचार आवश्यक हुन्छ भन्ने होइन, तर उनीहरूको भावनात्मक अवस्था बुझ्ने र आवश्यक सहयोग उपलब्ध गराउने व्यवस्था भने अत्यन्त महत्वपूर्ण हुन्छ।

बालबालिकाको हकमा यस्तो सहयोग अझ संवेदनशील ढंगले सञ्चालन गर्नुपर्छ। विपद्का घटनाले बालबालिकाको मनमा गहिरो डर र असुरक्षाको भावना पैदा गर्न सक्छ। उनीहरू पहिलेको तुलनामा बढी चुप लाग्ने, झर्किने, रुने, एक्लै बस्न खोज्ने वा अभिभावकसँग अत्यधिक टाँसिने हुन सक्छन्। यस्तो अवस्थामा उनीहरूलाई गाली गर्ने वा व्यवहार परिवर्तनलाई अनुशासनको समस्याका रूपमा मात्र बुझ्ने होइन, उनीहरूले भोगिरहेको मानसिक अवस्थालाई बुझ्ने प्रयास गर्नुपर्छ। खेल, चित्रकला, सामूहिक गतिविधि र सुरक्षित संवादमार्फत बालबालिकालाई आफ्ना भावना व्यक्त गर्ने वातावरण सिर्जना गर्न सकिन्छ।

प्राकृतिक प्रकोपबाट प्रभावित समुदायमा सामूहिक मनोसामाजिक सहयोगको पनि ठूलो भूमिका हुन्छ। विपद्ले एउटै व्यक्तिलाई मात्र होइन, पूरै समुदायलाई प्रभावित गरेको हुन्छ। त्यसैले समुदायस्तरमा सुरक्षित वातावरण, स्नेह पूर्ण संवाद, पारिवारिक तथा सामाजिक सम्बन्धको पुनर्स्थापना, सामूहिक गतिविधि र एकअर्काप्रतिको सहयोगको वातावरण निर्माण गर्न सके मानसिक तनाव कम गर्न मद्दत पुग्छ। स्थानीय समुदायका अगुवा, शिक्षक, स्वास्थ्यकर्मी, स्वयंसेवक, मानोपरामर्शकर्ता र सामाजिक संस्थाहरूले पीडितको व्यवहारमा आएको असामान्य परिवर्तन पहिचान गरी आवश्यक सेवासम्म पहुँच पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छन्।

नेपालजस्तो प्राकृतिक विपद्को उच्च जोखिममा रहेको देशमा विपद् व्यवस्थापनको योजनामै मानसिक स्वास्थ्यलाई समेटिनु आवश्यक छ। राहत वितरणका लागि जसरी खाद्यान्न, पानी, औषधि र आवासको पूर्वतयारी गरिन्छ, त्यसरी नै मनोसामाजिक सहयोगका लागि दक्ष जनशक्ति, मनोपरामर्श सेवा र आवश्यक सहयोगी सञ्जालको तयारी हुनुपर्छ। विपद्को घटना घटेपछि मात्र मनोसामाजिक परामर्शको आवश्यकता सम्झनुभन्दा विपद् पूर्वतयारीकै चरणदेखि यसको योजना बनाइनुपर्छ। स्थानीय तहदेखि संघीय सरकारसम्मका विपद् व्यवस्थापनसम्बन्धी संरचनामा मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोगलाई स्पष्ट रुपमा जिम्मेवारी सहित जोड्नु आवश्यक छ।

विपद्पछि पीडितसँग गरिने व्यवहारले पनि उनीहरूको मानसिक पुनःस्थापनामा ठूलो प्रभाव पार्छ। उनीहरूको दुःखलाई कमजोरपनका रूपमा हेर्नु, “बिर्सिदिनुस्”, “सबैको यस्तै भएको छ” जस्ता शब्द प्रयोग गर्नु वा उनीहरूको भावनालाई सानो ठान्नुले पीडा झन् बढाउन सक्छ। यसको सट्टा समानुभूति, सम्मान र धैर्यका साथ उनीहरूको कुरा सुन्नुपर्छ। प्रत्येक व्यक्तिले विपद्को सामना गर्ने तरिका फरक फरक हुने भएकाले सबैलाई एउटै व्यवहार वा एउटै समाधान लागू गर्न खोज्नु पनि उचित हुँदैन।

राहत वितरणमा पीडितको आत्मसम्मान जोगाउनु पनि उत्तिकै महत्वपूर्ण हुन्छ। सहयोग लिनुपर्ने अवस्थालाई अपमान वा लज्जाको विषय बनाइयो भने उनीहरुले आफ्नो वास्तविक समस्या व्यक्त गर्न हिच्किचाउन सक्छन्। राहत वितरण र मनोसामाजिक सेवाहरू सम्मानजनक, गोपनीय र भेदभावरहित हुनुपर्छ। विशेषगरी आफ्नो मानसिक समस्या खुलाउन डराउने व्यक्तिका लागि गोप्य मनोपरामर्श सेवा उपलब्ध गराउनु आवश्यक हुन्छ।

प्राकृतिक प्रकोपले भौतिक संरचना भत्काउँछ, तर त्यससँगै मानिसको मनभित्रको सुरक्षा र विश्वासको अनुभूति पनि भत्काउन सक्छ। त्यसैले पुनर्निर्माण भन्नाले केवल घर, सडक र पुल निर्माण गर्नु मात्र होइन, मानिसको आत्मविश्वास, सामाजिक सम्बन्ध, भविष्य प्रतिको आशा र राज्य प्रतिको भरोसा पनि पुनर्निर्माण गर्नु हो। यही कारणले राहत सामग्री र मनोसामाजिक परामर्शलाई दुई छुट्टाछुट्टै विषयका रूपमा होइन, एउटै मानवीय राहत तथा पुनःस्थापनाको प्रक्रियाका दुई महत्वपूर्ण पक्षका रूपमा बुझ्नुपर्छ।

अन्ततः विपद्को समयमा पीडितलाई सम्मान पुर्वक खाना, पानी, औषधि, आश्रय लगायत अन्य अत्यावश्यक सामाग्री उपलब्ध गराउनु हाम्रो तत्कालीन मानवीय दायित्व हो भने उनीहरूको मनमा रहेको डर, पीडा र असुरक्षालाई बुझेर साथ दिनु हाम्रो मानवीय संवेदनशीलताको परिचय हो। शारीरिक घाउमा औषधि लगाएजस्तै मानसिक घाउमा पनि समयमै मल्हम लगाउन उचित स्याहार सुसार, ध्यान, समानुभूति सहितको भावनात्मक सहयोग र आवश्यक विशेषज्ञ उपचार चाहिन्छ। त्यसैले प्राकृतिक प्रकोपपछि राहत सामग्रीको उपलब्धतासँगै व्यवस्थित मनोसामाजिक परामर्शलाई प्राथमिकतामा राख्न सकिएमा मात्र विपद् प्रभावित व्यक्तिलाई वास्तविक अर्थमा पुनःस्थापित गर्न सकिन्छ। विपद् व्यवस्थापनको सफलता कति राहत बाँडियो भन्ने कुराले मात्र होइन, पीडित व्यक्ति र प्रभावित समुदाय कति सुरक्षित, सम्मानित, आशावादी संगसंगै मानसिक तथा भावनात्मक रूपमा सवल भएर पुनःजीवनतर्फ फर्किए भन्ने कुराले निर्धारण गर्दछ।

लेखक मनोबैज्ञानिक मनोपरामर्शकर्ता तथा मानसीक स्वास्थ्य अधिकारकर्मी हुनुहुन्छ।

प्रतिकृया दिनुहोस्